रोटरी क्लब अफ रुपन्देहीमा पदस्थापन,सामाजिक पत्रकारिता पुरस्कार प्रदान गरिने

प्रकाशित मिति:

असार २९ , बुुटवल । रोटरी क्लब अफ रुपन्देहीमा पदस्थापन भएको छ । आइतबार साँझ एक समारोहका बीच वर्ष २०÷२१ का नयाँ पदाधिकारहरुद्वारा औपचारिक पदस्थापन भएको हो । पदस्थापन समारोह क्लबका वर्ष २०÷२१का अध्यक्ष गौतम भूसालको अध्यक्षता, रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गर्भनर राजिव पोख्रेलको प्रमुख आतिथ्यता र तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरेको विशिष्ट आतिथ्यमा भएको हो ।

पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष सुरजप्रसाद खत्रीले अध्यक्ष गौतम भूसाललाई रोटरी ग्राभेल तथा ह्याम्मर हस्तान्तरण गर्दै पदस्थापन गराएका थिए । आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै निवर्तमान अध्यक्ष खत्रीले नयाँ कमिटिलाई सफल कार्यकालको शुभेच्छा सहित निरन्तर सहयोगको प्रतिबद्धता पनि ब्यक्त गरे । पदस्थापनसँगै अध्यक्ष भुसाललाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर प्रमुख अतिथि राजिव पोख्रेलले शपथ ग्रहण गराए भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष भुसालले शपथ ग्रहण गराएका थिए
शपथ ग्रहणपछि नव अध्यक्ष भुसालले विगत ८ वर्षदेखि दुई आर्थिक तथा ऐतिहासिक शहर बुटवल र भैरहवा बीच तिलोत्तमालाई क्षेत्र बनाएर सामाजिक सेवा गर्दै आएको क्लबको नेतृत्वको जिम्मेवारीमा पदस्थापन हुँदा हर्षित भएको बताए । पदस्थापनसँगै उनले आफूलाई थप जिम्मेवारी महसुस भएको समेत बताए । क्लबको इतिहासलाई निरन्तरता दिँदै कोभिड–१९ ले निम्ताएको संकटलाई चूनौतीका रुपमा सामना गर्दै चूनौतीकै बीचबाट अवसरको पहिचान गरी क्लबका गतिविधिलाई निरन्तरता दिने बताए । उनले भने ‘विश्व महामारी र यसले निम्ताएको संकटका वावजुद हामी र हाम्रो समुदाय निरन्तर अगाडि बढीरहेका छौं । यस अवस्थामा क्लबको नेतृत्व प्राप्तिसँगैहामी थप जिम्मेवार हुनेछौं। क्लबको इतिहास, अग्रजले सिकाएको पाठ र अगाडिका योजनाहरुलाई आत्मसाथ गर्दै हामी क्लबको प्रतिष्ठासँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै यस कार्यकाललाई स्वर्णिम कार्यकाल बनाउने प्रयास गर्नेछौं।’

उनले यस वर्षको वार्षिक कार्ययोजना बारे जानकारी गराउँदै आफ्नो कार्यकालमा आफ्ना स्वर्गिय हजुरबुवा केशवराज भुसाल तथा हजुरआमा हिमादेवी भुसालको स्मृतिमा आफ्नो तर्फबाट यसैवर्षदेखि रोटरी सामाजिक पत्रकारिता पुरस्कारका लागि रु. ५१०००र– को अक्षयकोष स्थापना गर्ने जानकारी गराए । साथै क्लबले सामाजिक क्षेत्रमा निरन्तर कलम चलाउने एकजाना श्रमजिवि पत्रकारलाई हरेक वर्ष विश्व पत्रकारिता दिवसको अवसर पारेर ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ प्रदान गरिने बताए ।

त्यसैगरी विशिष्ट अतिथि तिलोत्तमा नगर सरकार प्रमुख बासुदेव घिमिरेले रोटरीको मान्यता र सामाजिक गतिविधिबाट आफू प्रभावित रहेको बताउँदै सहकार्यका लागि सदैव तत्पर रहेको बताए । उनले भने ‘ म आफूपनि रोटरीयन हो, आफू रोटरीयन भएकै कारण नभई रोटरीका मान्यता र गतिविधिबाट प्रभावित हुँदै आएको छु । रोटरी क्लब अफ रुपन्देहीले तिलोत्तमा नगरमा पुर्याएको योग्दानको सराहना गर्दै सामाजिक क्षेत्रमा हुने गतिविधिमा म र नगरको सदैव साथ, सहयोग र सहकार्य हुनेमा विश्वस्त छु । प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गर्भनर राजिव पोख्रेलले रोटरीको आवश्यकता र महत्व बढ्दै गएको बताउँदै थप जिम्मेवार भएर अघि बढ्न सुझाए । उनले ‘रोटरी र रोटरीयन सधैं समाजका सारथी हुन् । अहिले विश्वमा देखिएको संकटले रोटरीलाई थप जिम्मेवार बन्नुपर्ने देखिन्छ । तसर्थ सामाजिक क्रियाकलापलाई तिव्रता दिनका लागि तपाइँहरु सक्रिय भएर लाग्नुहोस् । शुभकामना छ ! ’

पदस्थापन समारोहमा ,रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिष्ट्रिक्ट गर्भनर इलेक्ट सन्तोष रिजाल, रोटरी वर्ष २०÷२१ का लागि जोन १८ का एसिष्टेन्ट गभर्नर तथा क्लबका एसिष्टेन्ट गभर्नर ध्रुबकुमार धिताल, रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा वर्ष २०÷२१ का लागि जोन–२० का एसिष्टेन्ट गभर्नर राजकुमार गुप्ता , डिष्ट्रिक्ट गभर्नर एडभाइजर तथा रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ इकोनोमिक एण्ड क्म्यूनिटी डेभलपमेण्ट चेयर अजयमान श्रेष्ठ लगाएतले आफ्ना भनाइहरु राख्दै सफल कार्यकालको शुभेच्छा प्रकट गरे ।तिलोत्तमा शंकरनगर स्थित दलन रिसोर्टमा सम्पन्न पदस्थापन कार्यक्रममा क्लबका पाष्ट प्रेसिडेन्ट हरिप्रसाद न्यौपानेको स्वागत मन्तव्य र क्लबका सचिव कृष्ण गौतमको सञ्चालनमा भएको थियो । कोभिड –१९ को महामारी र सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकतालाई महसुस गर्दै थोरै संख्याको सहभागितामा उच्च सतर्कता अपनाउँदै कार्यक्रम सम्पन्न गरिएको क्लबका अध्यक्ष गौतम भूसालले बताए । यहि १ जुलाइबाट उनको कार्यकाल सुरु भएको छ । उनी विगत एक दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत छन् भने ग्लोबल आवाज अनलाइनका प्रबन्ध सम्पादक हुन् ।