स्याङ्जाको विर्घामा पहिरो पूर्वगाविस अध्यक्षको मृत्यु, दुई घाइते, तीन बेपत्ता

प्रकाशित मिति:

भवानी अधिकारी -स्याङ्जा , कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित खहरेमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन्। मंगलबार बिहान ९ बजेतिर झरेको पहिरामा परी साविक बिर्घा गाविसका अध्यक्ष ६५ वर्षीय इमानसिंह गुरुङको मृत्यु भएको वडा अध्यक्ष चक्रबहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार पहिरामा परी ३ जना वेपत्ता छन भने अन्य २ जना घाइते छन् । बेपत्ता हुनेमा ५० वर्षीय टिका थापा, ६५ वर्षीय प्रेमचन्द्र पाण्डे र ५५ वर्षीय जिमानसिंह थापा हुन्।

वडा सदस्य ६० वर्षीय हुमनाथ पाण्डे (किसान ) र विरबहादुर थापा घाइते भएको बताइएको छ । पहिरोका कारण २ घर जोखिममा छन् । उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरणको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । प्रहरी र सशस्त्रको समूह घटनास्थल पुगेर घाइतेको उद्धार गरी बिर्घा स्वास्थ्य चौकीमा पुर्‍याएको छ। अन्य ३ जना वेपत्ताको खोजीकार्य जारी राखेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।