लकडाउनमा बहाल छुट गर्ने घरधनीलाई सम्मान

प्रकाशित मिति:

बुटवलमा लकडाउनको समयमा घरबहाल छुट गर्ने घरधनीलाई सम्मान गरिएको छ । कोरोना भाईरस (कोभि–१९) महामारीको समयमा घरबहाल छुट गर्ने घरधनीहरुलाई बुटवल उद्योग बाणिज्य संघ रुपन्देही र नेपाल घर बहाल सरोकार संघ रुपन्देहीले सम्मान गरेको हो ।मंगलबार बुटवल उद्योग बाणिज्य संघमा अयोजित कार्यक्रममा घरबहाल छुट गर्ने घरधनीहरुलाई बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले कदर पत्रले सम्मान गर्नुभएको हो । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनकालागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि व्यापार व्यबसाय ठप्प भएकाले आफ्नो घरमा बहालमा बस्नेहरुलाई सहज होस भन्ने उद्देश्यले बुटवलमा कतिपय घरधनीहरुले स्वतःस्फर्त रुपमा निश्चित समयको घरबहाल छुट गरेका थिए ।

लकडाउनको समयमा बुटवलको वडा नं. ५ मा मृगेन्द्रकुमार सेरचनले तीन महिनाको भाडा छुट गर्नुभएको थियो । त्यस्तै वडा नं. ४ का रुपकिशोर लाकौलले लकडान अवधिको ५० प्रतिशत, महेशमान सिंहले सिंह कम्प्लेक्समा १ महिनाको भाडा छुट गर्नुभएको थियो । त्यस्तै वडा नं. ५ मा यज्ञ कसजु, ४ का मदनलाल सेरचन, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद न्यौपाने, वडा नं. ६ ट्राफिकचोकका चक्रबहादुर पुन, कृष्ण पाठक, वडा नं. ४ संगमथपमा उज्जवल कसजु, वडा नं. ९ तिनकुनेमा नवराज श्रेष्ठ, वडा नं. ६ ट्राफिकचोकमा सुनिल वझा, राममन्दिर लाईनमा शोभाखर पाठक, सुलोचना श्रेष्ठ, वडा नं. १ मा रबिन्द्रगोपाल लाकौलले निश्चित समयको घरबहाल छुट गर्नुभएको थियो ।

त्यस्तैगरी वडा नं. ५ हाटबजार लाईनमा अम्मल लाकौल, ईन्द्र रिसाल, अमरपथमा डा. द्वारिका थैव श्रेष्ठ, संगमपथमा होमबहादुर सेन, बुद्धिप्रसाद शर्मा पाण्डे, ट्राफिकचोकमा नारायण ढकाल, कालिकानगरमा रामचन्द्र रेग्मी, राममन्दिर लाईनमा ऋषि भण्डारी, बिकासपथमा यमुना श्रेष्ठ, अमरपथमा रामकुमार श्रेष्ठ, गीता शर्मा भट्टराई, चुन्नुप्रसाद पौडेल, बुटवल ९ मा सुमि हमाल, बुटवल ११ आवास पथमा बिकास कर्माचार्य, बुटवल उद्योग बाणिज्य संघको संगमपथ स्थिती भवनमा निश्चित समयको घरबहाल छुट गरिएको नेपाल घर बहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष खगेन्द्र पौडेलले जानकारी गराउनु भयो ।

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले कोरोना महामारीको असामान्य परिस्थितीमा घरबहाल छुट गर्ने घरधनीलाई धन्यवाद दिँदै घरभाडा र बुटवलको व्यबसायिक प्रतिष्ठान बिच अन्तरसम्बन्ध रहेको उल्लेख गर्नुभयो । उहाँले १२ प्रतिशतबाट घटाएर घरबहाल कर बुटवलमा १० प्रतिशतमा झारिएको बताउँदै बहालकर महंगो भयो कसैले भन्छ भने त्यो भन्दा पनि ५ प्रतिशत बढी भाडा दिने गरि नगरपालिकालाई जिम्मा दिन आग्रह गर्नुभयो । त्यस्तैगरी बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले केही व्यक्तिले गरेको यो काम उदाहरणीय भएको बताउँदै सकेसम्म सबैलाई केही समयको भएपनि घरभाडा छुट गर्न घरधनीहरुलाई आग्रह गर्नुभयो । त्यस्तैगरी नेपाल घरबहाल सरोकार संघका केन्द्रीय अध्यक्ष शंकर कोईरालाले यो असामान्य परिस्थितीमा बहालमा बस्ने तथा व्यबसाय गर्नेलाई बहाल छुट गर्ने उदाहरणीय काम भएको बताउँदै घरधनी तथा बहालमा व्यबसाय गर्ने दुबै पक्षको लगानीको सरक्षा गर्ने सरकारको काम भएकाले बुटवलका हकमा नगरपालिकाले काम गर्न ध्यानाकर्षण गराउनु भयो । अहिले जसरी घरधनीले व्यबसायीको पिर मर्का बुझेका छन् त्यसैगरी नगरपालिकाले पनि घरधनीका पिरमर्का बुझेर बहाल करमा सम्बोधन गर्न मेयर सुवेदीसंघ आग्रह गर्नुभयो ।