कर्जा र निक्षेपको ब्याजदर घट्न शुरु

प्रकाशित मिति:

३० असार, काठमाडौं । बैङ्क तथा वित्तीय क्षेत्रमा कर्जा तथा निक्षेपको ब्याजदर घटेको छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैङ्कको ब्यादजरमा कमी हुँदै गएको जानकारी दिए । गभर्नर अधिकारीले संघीय संसदको अर्थसमितिमा दिएको जानकारी अनुसार ११ महिनामा कर्जाको ब्याजदर १ दशमलव ७ प्रतिशतले कमी आएको छ । २०७६ असार महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूको औसत कर्जाको ब्याजदर १२ दशमलव १३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा १ दशमलव ७ प्रतिशतले घटेर कर्जाको ब्याजदर १० दशमलव ४३ प्रतिशतमा झरेको गभर्नर अधिकारीले जानकारी दिए ।

कर्जामात्रै होइन यस अवधिमा निक्षेपको ब्याजदरमा समेत कमी आएको छ । २०७६ असारमा ६ दशमलव ६० प्रतिशत रहेको कर्जाको ब्याजदर २०७७ जेठमा घटेर ६ दशमलव १७ प्रतिशत कायम भएको अधिकारीले जानकारी दिए । आधार दरमा पनि क्रमिक रूपले कमी आउँदै गएको छ। वाणिज्य बैङ्कहरूको औसत आधार दर २०७६ असारसम्म ९ दशमलव ५७ अंकमा थियो । त्यो घटेर २०७७ जेठमा ८ दशमलव ६६ प्रतिशत कायम भएको छ ।

तोडियो बैङ्कर्स संघको भद्र सहमति – नेपाल बैङ्कर्स संघले ब्याजदरका विषयमा गरेको भद्र सहमति पनि तोडिएको छ । ब्याजदरमा तीव्र उतारचढाव भएपछि संघको आमन्त्रणमा सबै वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरू बसेर ब्याजदरलाई ठिक ठाउँमा राख्न भद्र सहमति गरेका थिए । बैङ्कहरूले संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७ प्रतिशत, सर्वसाधारणको मुद्दति निक्षेपमा ८।५ प्रतिशत र बचतको ५।५ प्रतिशतभन्दा माथि नजाने भद्र सहमति गरेका थिए ।

उक्त सहमति अब कायम नरहेको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए । उनका अनुसार बैङ्कहरूले ब्याजदरका विषयमा आफूखुसी निर्णय गर्न पाउनेछन् । हाल देशमा २७ वटा वाणिज्य बैङ्क, २१ विकास बैङ्क, २२ वित्त कम्पनी र ८९ वटा लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा छन् । जेठ मसान्तसम्म यी बैङ्क तथा वित्तीय संस्थाहरूको शाखा संख्या ९ हजार ७ सय १६ रहेको छ भने ७५३ स्थानीय तहमध्ये ७४६ स्थानीय तहमा वाणिज्य बैङ्कको उपस्थिति पुगिसकेको छ।@onlinekhabar