स्याङ्जामा पहिरोले पुरिएर ३ को मृत्यु , ४ घर विस्थापित, २ बेपत्ता

प्रकाशित मिति:

स्याङ्जा—३० असार – अविरल बर्षाका कारण स्याङ्जाको काली गण्डकी गाँउपालिका ४ खहरेमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । विहान ८ देखि ९ बजे भित्र गएको पहिरोले दुई जना घाईते, ३ जनाको मृत्यु र १ जना अझै बेपत्ता भएका छन् । सोमवार राती आएको बर्षादले घरभित्र पानीको भेल आएपछि हेर्न गएका बेला पहिरो आएर सो घट्ना भएको वडा अध्यक्ष चक्रप्रसाद पाण्डेले बताए । पहिरोमा पुरिएर पूर्व गाविस अध्यक्ष इमान सिंह राना, जिमान सिंह राना र टिका बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख विमलराज कणेलले जानकारी दिए । । घाईते वडा नम्वर ४ का जनप्रतिनिधि समेत रहेका होमकान्त पाण्डे(किसान) र बुद्ध रानालाई घाइते अवस्थामा उद्धार गरि पाल्पा उपचारका लागि पठाइएको छ । रानाको अवस्था सामान्य रहेपनि पाण्डेको अवस्था भने गम्भिर रहेको बताइएको छ । पहिरोमा बेपत्ता भएका प्रेमचन्द्र पाण्डेको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

विहान गाउँमा खानेपानीको धारामा पानी नआएपछि र घरमा पानीको भेल पसेपछि स्थानीय बुद्धबहादुर रानाले सबै गाँउलेलाई खबर गरेका थिए । पानीको मुलमा मर्मत र पानी आउने सानो खोलालाई फर्काउने क्रममा एक्कासी माथीबाट आएको पहिरोले उनीहरुलाई पुरेको थियो । पहिरोमा पुरिएकाको उद्धार र खोजी कार्यमा कठिनाई आएका कारण समस्या भएको बताइएको छ । पहिरोका कारण ४ घर विस्थापित हुने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घट्ना स्थलमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, प्रहरी प्रमुख विमलराज कणेल सहित नेपाली सेना र शसस्त्र प्रहरीको टोली पुगेर उद्धार कार्य अगाडी बढाइएको बताइएको छ । पहिरोका कारण विस्थापित ४ घरका परिवारलाई छिमेकीको घरमा सारिएको स्थानीय समाजसेवी युवा जे.के पाण्डेले जानकारी दिए ।

यता स्याङ्जाको चापाकोट नगरपालिकाका राम पौडेल सम्पर्क विहिन भएका छन् । चापाकोट नगरपालिका वडा न ३ कामतीका २५ वर्षीय रामप्रसाद पौडेल सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । आफ्नै खेतमा जोत्न जान्छु भनी एक हल गोरु लिएर हिडेका पौडेल सोमवार दिउँसो ११ बजेदेखि सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन् । गोरु ज्याग्दीखोला तरी गएको र उनी हालसम्म सम्पर्कमा नआएको अधिकारीले बताएका छन् । प्रहरीले पौडेलको खोजतलास गरिरहेको जनाएको छ ।