अयोध्याका बारेमा दिएको अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्रालयको स्पस्टिकरण

प्रकाशित मिति:

काठमाडौं, असार : प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमी अयोध्याका बारेमा दिएको अभिव्यक्तिका विषयमा परराष्ट्रमन्त्रालयले स्पस्टिकरण दिएको छ। सोमबार भानुभक्त जयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा ओलीले अयोध्या नेपालमै रहेको र राम नेपाली भएको भनेर दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि परराष्ट्रले स्पस्टिकरण दिएको हो।

मंगलबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले प्रधामन्त्रीको अभिव्यक्ति राजनीतिक नभएको बताएको छ। ‘प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चोट पु¥याउने आशय राखिएको थिएन,’ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘श्रीराम र उहाँसँग सम्वद्ध स्थानहरुका बारेमा धेरै किंवदन्ती र भनाइहरु छन् । प्रधानमन्त्रीले श्रीराम र उहाँसँग जोडिएका विभिन्न स्थानहरुका बारे नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्वमाथि सामान्य जोड दिनुभएको हो ।’

परराष्ट्रले प्रधानमन्त्रीको टिप्पणीले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य नराखेको भन्दै विवाह पञ्चमी समारोहको परम्परा, जसमा भारतको अयोध्याबाट जनकपुरमा जन्ती आउने गर्छन्, प्रत्येक वर्ष आयोजना हुँदै आएको बताएको छ । ‘श्रीराम र उहाँसँग सम्बन्धित ठाउँहरूबारे धेरै मिथक र सन्दर्भहरू भएको हुँदा प्रधानमन्त्रीले रामायणले श्री राम, रामायण र अन्य बिभिन्न तथ्यहरू पाउनको लागि विशाल सांस्कृतिक भूगोलको थप अध्ययन र अनुसन्धानको महत्त्व मात्र प्रकाश पार्नु भएको हो।’ विज्ञप्तिमा भनिएको छ, ‘यी टिप्पणीहरू अयोध्याको महत्त्व र यसमा रहेको सांस्कृतिक मूल्यलाई कमजोर पार्नका लागि थिएनन्।’

२०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किटको उद्घाटन गरेको स्मरण गराउँदै परराष्ट्रले त्यसले दुई देश र जनताबीचको सांकृतिक समानतालाई संकेत गरेको उल्लेख गरेको छ। ‘नेपाल र भारतका प्रधानमन्त्रीले सन् २०१८ को मे महिनामा रामायण सर्किटको उद्घाटन गर्नुभएको थियो, जसमा जनकपुर–अयोध्या यात्रु बस सेवा एउटा महत्वपूर्ण तत्वका रुपमा रहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यी तथ्यहरुले दुई देश र जनताबीचको सांस्कृतिक समानतालाई संकेत गर्छन् ।’

प्रधानमन्त्री ओलीले सोमबार दिएको अभिव्यक्ति माथि नेपालभित्रै विरोध भइरहेको छ। परराष्ट्र मामलाका जानकारहरुले नेपाल–भारतबीच सिमा विवाद चलिरहेका बेला प्रधानमन्त्रीले हलुका टिप्पणी गरेर मुल मुद्दा विषयान्तर भएको टिप्पणी गरेका छन्। भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको निन्दा समेत गरेको थियो।@kathamandupress