बलात्कार आरोप लागेका सशस्त्रका एसएसपी पक्राउ

१ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन १ : बलात्कारको आरोपमा सशस्त्र प्रहरी बल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्रकुमार अधिकारी पक्राउ परेका छन् ।

बुधबार दिउँसो २ः३० बजे कास्की प्रहरीको कन्ट्रोल रुममा एक महिलाले आफूमाथि बलात्कार सम्बन्धमा मौखिक उजुरी गरेकी थिइन् । कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले कन्ट्रोल रुममा घटनाको बारेमा जानकारी आएलगत्तै कास्की प्रहरी परिचालन भएर अधिकारीलाई पक्राउ गरेको जानकारी दिए ।

नायब उपरीक्षक हमालका अनुसार अधिकारीलाई लामापाटन तालीम केन्द्र परिसरबाटै पक्राउ गरिएको हो । चितवनकी अन्दाजी ३० वर्षीय महिलालाई अधिकारीले आफ्नै क्वाटरमा खाना खान बोलाएको र उक्त हर्कत गरेको हुनसक्ने प्रारम्भिक बयानबाट देखिएको छ ।

बलात्कार आरोपमा पक्राउ परेका अधिकारी मङ्गलबार मात्र प्रहरी प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभागमा सरुवा भएका थिए । साउन १ गते तोकिएको ठाउँमा हाजिर हुनु एक दिन अघि बलात्कार जस्तो जघन्य अपराधमा उनी मुछिएका छन् । उक्त घटनामा महिलाले लिखित जाहेरी दिएको घटनाको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया