पहिरोमा परी मृत्यु भएका बिर्घा गाविस पुर्वअध्यक्षसहित तीनजनाको सामूहिक अन्त्येष्टि

१ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
2K Shares


भवानी अधिकारी ।   स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित खहरेमा गएको पहिरोमा परी ज्यान गुमाएका ३ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । पहिरोमा पुरिएर पूर्व गाविस अध्यक्ष ७० वर्षीय इमान सिंह रानासहित ६० वर्षीय जिमानसिंह राना र ५० वर्षीय टिका थापाको ज्यान गएको थियो । उनीहरु तीनैजनाको कालीगण्डकी किनार गौरीघाटमा हिन्दु परम्पराअनुसार सामूहिक अन्येष्टि गरिएको हो । भावबिह्वल बनेका स्थानीय समाजसेवी, जनप्रतिनिधि एवं राजनीतिकर्मीको शव यात्रामा उल्लेख्य सहभागीता थियो ।

इमानसिंह राना २०५४ को स्थानीय निर्वाचनमा बिर्घा गाविसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसतर्फका निर्वाचित सदस्य हुन्। यसैगरी, जिमानसिंह राना पूर्व क्याप्टेन र टिका थापा स्थानीय समाजसेवी हुन् । मगर जातीय परम्परा अनुसार परिवार आफ्नो संस्कारका अन्तिमकार्य सकेपछि नेपाली कांग्रेस परिवारले चारतारे अंकित झण्डा ओढाएको थियो । पूर्वसांसद शंकरप्रसाद पाण्डले बिर्घाले समाजसेवामा अग्रणी, क्रियाशिल एवं अनुभवी हस्तीहरु गुमाउनु परेको पीडा व्यक्त गर्दै उनीहरुले देखाएको सत्मार्गमा हिँड्न आग्रह गरे । पूर्वसांसद पाण्डेलगायतले तीनैजनालाई कांग्रेसको झण्डा ओढाएर गौरीघाटमा अन्तिम श्रद्धान्जली दिएका थिए ।

कांग्रेसका कार्यवाहक सभापति कुमार राना, गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, महिला नेतृ माया राना लगायतले अन्तिम श्रद्धान्जली दिएका थिए । वडा सदस्य ६० वर्षीय हुमनाथ पाण्डे किसान र ५५ का विरबहादुर थापालाई पहिरोवाट उद्धार गरी उपचारका लागि पाल्पा रिफर गरिएको छ। पाण्डे सोही वडा सदस्य हुन् । उनीहरुको पाल्पामा उपचार भइरहेको छ भने बेपत्ता प्रेमचन्द्र पाण्डेको खोजीकार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । गाउँमाथि पहिरो आएर खानेपानी नआएपछि पानी मर्मतका गएका बेला माथिबाट झरेको पहिरोमा परेका थिए । पानी मर्मत र पहिरो अनुगमनका लागि भन्दै उनीहरु ६ जना गएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए । उनले भने ‘पहिराका कारण धनजनको अपुरणीय क्षति पुगेको छ भने थप २ घरगरी ६ वटा घर परिवार बिस्थापित भएका छन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया