सिजी ल्याण्डमार्कले चार महिनाको भाडा छुट दियो

प्रकाशित मिति:

चितवन १ साउन । चितवनको भरपुरस्थित सपिङ मल सिजी ल्याण्डमार्कले कम्प्लेक्सका व्यवसायीलाई लकडाउन अवधिभर चार महिनाको भाडा छुट दिने भएको छ । ल्याण्डमार्क व्यवस्थापनले चैंत्रदेखि असार महिनासम्मको चार महिनाको भाडा छुट दिने निर्णय गरेको मल म्यानेजर उज्वल केसीले जानकारी दिए ।

यो अवधिको झण्डैं चार करोड रकम भाडा छुट दिइने म्यानेजेर केसीले बताए । सपिङ मलमा विभिन्न व्यवसाय गर्ने ७० जना व्यवसायी छन् । सिजी ग्रूप ग्लोबलले सञ्चालन गरेको मलका प्रमुख सञ्चालक प्रतिष्ठित व्यवसायी एवम् सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको केसीले बताए । लकडाउनका कारण ठूलो समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत होस् भन्ने उद्धेश्यले भाडा छुट दिइएको हो । मल व्यवस्थापनको जिम्मेवारी लिएको बिल्डिङ म्यानेजमेन्ट कम्पनी बिएमसीका सञ्चालक, व्यवसायी राजेन्द्र अर्यालले व्यवसायीको मर्का बुझेर लकडाउन अवधिभरको भाडा नलिने निर्णय भएको बताए ।

अर्याल भन्छन्, ‘अहिलेको अवस्थामा व्यवसायीलाई बचाउनु ठूलो कुरा भएकोले केही समस्या भए पनि चार महिनाको भाडा मिनाहा गरेका हौं ।मलका व्यवसायीहरुले व्यवस्थापन पक्षको निर्णयबाट निकै उत्साहित बनेको बताए । मलमा व्यवसाय सञ्चालन गरिरहेका विदुर पौडेलले भाडा छुटले ठूलो राहात मिलेको भन्दैं पलायनको अवस्थाबाट जोगिको बताए । मलका अर्का व्यवसायी पपुलर युनिसेक्स सलोनका सञ्चालक सुलभ सिग्देलले मलको भाडा छुटले धेरै राहत मिलेको प्रतिक्रिया दिए । उनले भने–‘पसल संचालन नहुँदा धेरै तनावमा थियौं, भाडा छुटले धेरै राहत मिलेको छ ।’

मलका म्यानेजर उज्वल केसीका अनुसार मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराइरहेका छन् । सरकारले सपिङ कम्प्लेक्सहरु सञ्चाल नगर्ने अनुमति नदिएको अवस्थामा ब्रान्डेड सामानका ग्राहकलाई विशेष व्यवस्था गरी व्यवसायीले सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको केसीको भनाइ छ ।सामाजिक दुरी, मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको व्यवस्थालगायत स्वास्थ्य सुरक्षा सम्बन्धी अन्य मापदण्ड पूरा गरे÷नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरा मार्फत सूक्ष्म रुपमा निगरानी गरे ग्राहकलाई सामान उपलब्ध गराउने व्यवस्था मिलाएको म्यानेजर केसीले जानकारी दिए । मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा सरसफाई गर्ने गरेको उनको भनाइ छ ।