प्रचण्ड र माधव नेपालले वालुवाटार पुगेर प्रधानमन्त्रीको राजीनामा मागे

१ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेका छन् ।भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए ।

बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे । बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका ६ नेता ९प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल को छलफलमा पनि प्रधानमन्त्रीको राजीनामा माग्नो अडान कायम राख्ने सहमति भएको एक नेताले बताए ।

तर ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने बताएका छन् । प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमै ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने माग राखेका थिए । तर ओली त्यसमा सहमत छैनन् । बहुमतबाट निर्णय गर्दा पार्टी विभाजनसम्म हुनसक्ने भन्दै नेताहरुले बैठक स्थगित गरेर अध्यक्षद्वयलाई छलफलबाट सहमति खोज्ने जिम्मा दिएका छन् । तर सहमति जुटेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया