बुटवल–तानसेन सडकमा खसेको पहिरोले ट्रक पुरियो

प्रकाशित मिति:

३ साउन, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ ।

पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फसेकै अवस्थामा शुक्रबार राति पुनः पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

पहिरोले सडकमा रोकिएको ट्रक पूरै ढाकिने गरी पुरेको छ । ट्रक पुरिँदा मानवीय क्षति भए–नभएको यकिन नभएको डीएसपी गिरीले बताए । दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ ।

पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट जेसीबी ल्याएर काम गर्ने तयारी भइरहेकाले सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने गिरीले बताए । ‘पहिरो खसेको स्थानमा रहेको ट्रक नालामा फसेको र पुरिएको छ,’ डीएसपी गिरीले भने, ‘माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले सडक सुचारु गर्न केही समय लाग्छ ।@onlinekhabar