नगरपालीकाले छुट नदिएको गुनासो ।

प्रकाशित मिति:

हरिश ढकाल -बुटवल । बुटवल उपमहानगरपालिकाको आफ्नो मातहतमा रहेका ब्यबसायिक सटर व्यवसायीहरुले नगरपालिकाले लकडाउनको समयको भाडा लिन ताकेता गरेको गुनासो गरेका छन् । बुटवल उपमहानगरपालिकासंगको सम्झौतामा बसेका साना व्यवसायीहरुले बुटवलमा पत्रकार सम्मेलन गर्दै आफुहरुलाई असार मसान्त भित्रै भाडा तिर्न ताकेता गरिएको गुनासो गरेका हुन् ।
असार मसान्तमा सम्झौता सकिएका करिब ४० व्यवसायीले नगर सरकारको मातहतमा रहेपनि लकडाउन अवधिमा १ महिनाको मात्रै भाडा छुट गर्नु अभिभावकिय काम नभएको गुनासो गरेका हुन् । लकडाउनको अवधिमा व्यवसायीलाई समस्या परेको भन्दै नगरपालिकाले थप १ वर्ष सम्झौता थप्ने र १ महिना भाडा छुट गर्ने भनेपनि ३ महिनाको भाडा छुट र ३ वर्ष सम्झौता अवधि थप गर्न व्यवसायीहरुले माग गरे ।

पत्रकार सम्मेलनमा बोल्दै व्यवसायी भरत श्रेष्ठले नगरपालिका संग सम्झौता गर्दा बहाल भाडा सस्तो भएपनि अहिले ब्यवसायि धरासायि बन्न बाध्य भएकोले भाडा समायोजन गर्नु पर्ने बताए । नगरपालिकाले व्यवसाय सञ्चालन गर्नको लागि स्वीकृति दिएको १०–१५ दिनबाट नै बहाल उठाउन ताकेता गरीएको उनले बताए । उनले भने –‘व्यक्तिगत निजि घर वा भवनमा बसेकोले पनि ३ महिनाको बहाल छुट गरेका छन्, नगरपालिकाले भने बहाल तिर्न ताकेता ग¥यो ।

अर्का व्यवसायी गङाराम भुसालले आफुहरुका माग सम्बोधन गर्ने भनेर नगरपालिकाले आश्वासन दिएपनि कार्यान्वयनमा भने प्रभावकारी नभएको बताए । उनले अहिले थप १ वर्षको लागि सम्झौता गर्नको लागि बोलएपनि आफुहरु संग बहाल तिर्ने र सम्झौतावापत दिनुपर्ने रकम नभएको गुनासो गरे

साना व्यवसायीहरु पद्म नारायण मानन्दर, बिष्णु प्रसाद श्रेष्ठ, सञ्जय बज्राचार्य, मिना मानन्धर लगायतले नगरपालिकासंगको समन्वयका व्यवसायीलाई केही राहत उलब्ध गराउन आफुहरुका माग सम्बोधन हुनुपर्ने तर्क गरे । उनीहरुको नगरपालिका संगको ५ वर्षे सम्झौता असार मसान्तमा सकिएको छ । बुटवलको हाटबजार क्षेत्र र बुटवल फाईनान्स क्षेत्रको भवनमा व्यवसाय गर्ने व्यवसायीहरुको औसत बहाल ३० हजार छ ।