प्युठानमा भएको दुर्घटनाप्रति नेकपा राप्ती ब्युरोद्वारा दुःख व्यक्त

प्रकाशित मिति:

साउन ४, बुटवल । नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले साउन ३ गते राती ११ बजे प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिका रूमालेमा भएको सवारी दुर्घटनामा परि ७ जना मजदुरहरुको मृत्युभएको घटनाले स्तब्ध भएको बताएको छ ।

ब्युरो इन्चार्ज समरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्युठान जिल्लाको भिंगृ–स्वर्गद्धारी सडकखण्डमा कार्यरत मृतक मजदुरहरु रून्टीगढी गाउँपालिका ५ का बाइजा रोल्पाका १९ बर्षीय बिरेन्द्र बाठा मगर, १९ बर्षीय थमन थापा मगर, २१ बर्षीय सागर बस्नेत, २५ बर्षीय कविराम बस्नेत, २४ बर्षीय रिमबहादुर बस्नेत, १४ बर्षीय गोबद्र्धन बुढा मगर र त्रिवेणी गाउँपालिका २ रोल्पाका ट्रयाक्टर चालक २५ बर्षीय कलम कुँवरप्रति हाम्रो पार्टी राप्ती ब्युरोको तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनले शोकाकूल परिवार, आफन्तजन तथा स्तमित्रहरुमा पर्न गएको दुःखप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनामा परि घाइते भएका रून्टीगढी गाउँपालिका–५ रोल्पाकै २० बर्षीय विशाल थापाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

विज्ञप्तीमा इन्चार्ज समरले कोभिड १९ (कोरोना) को महामारी देशव्यापी बाढी, पहिरो तथा डुबानका कारण भइरहेका जनधनको अपुरणीय क्षति, देशव्यापी भइरहेका सवारी दुर्घटनाहरू र पछिल्लो पटक भएको उक्त दुर्घटनाले पार्टीलाई थप पीडाबोध बनाएको बताएका छन् । उनले घटनाको लगत्तै उद्दार गर्न सकिएको भए मानवीय क्षति कम गर्न सकिने भन्दै उत्कृष्ट वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको अभियानमा यात्रारत पार्टीका नेता र कार्यकर्ताहरुको विरुद्ध जहाँ र जस्तोसुकै ठाउँमा पनि पुग्नसक्ने सरकारको स्थानीय प्रशासन घटना भएको स्थानमा भोलीपल्ट मात्रै पुग्नुले वर्तमान सरकार जनउत्तरदायी नभएको तथ्यलाई स्पष्ट गरेको बताएका छन् ।

उनले मृतकका परिवारलाई तत्काल क्षतिपुर्ति दिनुपर्ने भन्दै विज्ञप्तीमा भनिएको छ, “मृतक मजदुरका परिवारहरुलाई तत्काल क्षतिपूर्ति तथा आवश्यक राहत उपलब्ध गराउनुका साथै आइएलओ १६९ अनुसार मजदुरहरुले पाउनुपर्ने सम्पूर्ण सेवा सुविधाहरु प्रदान गर्न हाम्रो पार्टी सरोकारवाला निकायहरुमा हार्दिक अपिल गर्दछ ।”