दुई दिन देखी अवरुद्ध बुटवल–तानसेन सडक खुल्र्यो

प्रकाशित मिति:

४ साउन, बुटवल । पहिरोका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा यातायात सञ्चालन भएको छ ।

तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै शुक्रबार राति खसेको पहिरो दुई दिन लगाएर पन्छाएपछि आइतबार सांझदेखि सवारी साधन चल्न थालेका हुन् । शनिबार दिनभर दुईवटा एक्साभेटर र आइतबार दुई एक्साभेटर र एउटा लोडरले पहिरो पन्छाएपछि आइतबार सांझदेखि सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

उक्त स्थानमा एक सातादेखि पहिरो खस्न शुरु भएको थियो । शुक्रबार राति ठूलो मात्रामा खसेको पहिरोले दुई दिन सवारी साधन सञ्चालन र पैदल यात्रा समेत ठप्प भएको थियो । पहिरोले राजमार्गको बेसलाइन नै बगाएको थियो ।

पहिरोले लु १ क ११७५ नम्बरको ट्रकसमेत पुरेको थियो । पहिरोले पुरेको ट्रकलाई शनिबार निकालिएको थियो । सडकमाथि पहिरोको भाग अझै बाँकी रहेकाले वर्षा भएका बेला यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । सडक अवरुद्ध हुँदा रोकिएका सयौं सवारी साधनहरु सडक खुलेसँगै गन्तव्यतर्फ लागेका डीएसपी गिरीले बताए ।@onlinekhabar