बाढी प्रभावित परिवारलाई रेडक्रसको सहयोग

प्रकाशित मिति:

मनसुनी बर्षाको कारण बाढी पहिरोले जनधनको क्षति भइरहेको र कोभिडले समेत आक्रान्त पारिरहेको अवस्थामा रेडक्रस सञ्जालले देशभरी प्रतिकार्य तीब्र बनाएको छ ।

सिन्धुपाल्चोक, म्याग्दी, गुल्मी, जाजरकोट लगायत १८ वटा पहिरो अति प्रभावित जिल्लाहरुका दुइसय पच्चीस परिवारलाई नेपाल रेडक्रसले राहत सामग्रीको पूर्णसेट उपलव्ध गराएको छ । वितरित सामग्री सेटमा तार्पोलिन –१, कम्बल–२, महिलाको सारी– १, सिलाउने कपडा–१४।५ मीटर, भाँडाकुडा सेट–१, बाल्टी–१ र नाइनलको डोरी १० मिटर लगायतका सामग्री छन् । त्यसरी वितरित सामग्री सेटको प्रतिसेटको मूल्य रु। १० हजार रहेको छ ।

“अहिलेसम्म २५ लाख मूल्य वढीको सामग्री प्रत्यक्ष प्रभावित परिवारलाई उपलव्ध गराइएको छ र ५ हजार परिवारसम्मलाई सहयोग गर्ने तयारीमा छौँ । नेपाल रेडक्रसका विपद् व्यवस्थापनका निर्देशक मोना अर्यालले बताउनुभयो ।” उहाँले भन्नुभयो : नेपाल सरकारसमेतको समन्वयमा बनाइएको मनसून पूर्वतयारी योजना मुताविक हामीले उद्धार, राहत सेवा पुर्याइरहेका छौँ ।यसका अतिरिक्त तत्कालको आवश्यकता अनुसार ५८२ वटा तार्पोलिन, ३९२ वटा कम्मल, १५ सेट भाँडाकुडा र २ वटा टेन्ट प्रभावितलाई उपलव्ध गराइएको छ ।

बाढी पहिरोले आजसम्म कम्तिमा दुइहजार चारसय अठतीस परिवार विस्थापित भएको र ३ हजार ३ सय ५७ परिवारलाई गम्भीर असर परेको रेडक्रसको प्रारभ्भिक अनुमान छ । त्यस्तै प्रारम्भिक प्रतिवेदन अनुसार चारसय पन्ध्र घर पूर्णक्षतीभएका र पाँचसय पैँसठी घरमा आंशिक क्षति पुगेको नेरेसोका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । बाढी प्रतिकार्यको लागि ३४ वटा टोली देशभरी परिचालित भएका छन् ।

यसैबीच हिजो सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोले विस्थापित भएका २० परिवारलाई तत्कालै राहत सामग्री उपलव्ध गराइएको छ । त्यस्तै जाजरकोटको बारेकोटमा पनि पहिलो चरणको राहत सामग्री पुर्याइएको छ ।निर्देशक पौडेलले बताउनुभयो : रेडक्रसका निकायहरुले स्थानीय स्रोत परिचालन र स्थानीय तहसँग गरेको समन्वयमार्फत् पुर्याएको सेवा अतुलनीय छ । म्याग्दीको पश्चिमी भेगमा गएको पहिरोमा सडक अवरुद्ध हुँदा स्थानीय पहलमा हेलीकप्टरको प्रयोग गरी प्रभावित क्षेत्रमा सामग्री पुगेको छ ।