रुपन्देहीको सियारीमा बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात, बाच्छी हुर्काउनेलाइ १० हजार रुपैया प्रोत्साहन दिईने ।

प्रकाशित मिति:

रुपन्देही श्रावण ५ । रुपन्देहीको सियारी गाउँपालिकाले बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ को स्वीकृत कार्यक्रम अनुसार बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात गरिएको हो । दुध उत्पादनका लागि देशमा गाईको संख्या कम भएको र विदेशबाट गाई आयात गर्नुपर्ने बाध्यता हटाउन सियारी गाउपालिकाले यस कार्यक्रमको. सुरुवात गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमका लागि यस आर्थिक वर्षमा गाउपालिकाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरि कार्यक्रमको थालनी गरेको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । जन्मेका प्रत्येक बाच्छिहरुको जन्मदर्ता गरिने र १० महिना पालन गरिसकेपछी उत्कृष्ट रुपमा पालन गरिएको पाइएमा प्रती बाच्छी १० हजार किसानलाई प्रोत्साहन स्वरुप रकम प्रदान गरिने उहाँले बताउनु भयो ।बाच्छी हुर्काउने कार्यक्रमले गाउँपालिकामा दूध उत्पादनका लागि बिदेशबाट गाई आयात गर्नुपर्ने बध्यताको अन्त्य हुने तथा किसानहरुको आयअर्जनमा वृद्धि हुने गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो ।

सियारी गाउपालिका वडा नम्बर—६ का पशुपालक आनन्द भण्डारीको गोठमा आईतबार जन्मिएको बाच्छिको जन्म दर्ता गर्दै बाच्छी हुर्काउने कार्यक्रमको शुरूवात गरिएको गाउँपालिकाका पशु शाखा प्रमुख गणेश खनालले जानकारी दिनुभयो ।किसानहरुले धेरै मात्रमा लाभ लिन सक्ने गरि गाउँपालिकाले विभिन्न किसिमिका कार्यक्रमहरु ल्याएको प्रमुख प्रशासकिय अधिकृत मीन प्रसाद भट्टराईले बताउनु भयो । बाच्छी हुर्काउने कार्यक्रमले किसानहरुलाई गाई पालन गर्न सहज हुने र दुध उत्पादनमा गाउँपालिका आत्मा निर्भर बन्ने लेखा अधिकृत नारायण पौडेलले बताउनु भयो ।