सरकार र यातायात व्यवसायीबीच सहमति भए पछी बिहीबारदेखि यातायात सञ्चालनमा आउने

प्रकाशित मिति:

काठमाडौं, साउन ४ : यातायात व्यवसायीबीच सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन्। सोमबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीचबीच भएको वार्तामा यातायात व्यवसायी सार्वजनिक सवारीसाधन सञ्चालन गर्न तयार भएका हुन्।

सरकार यातायात मजदुरको कोरोना बीमा गर्न तयार भएपछि यातायात व्यवसायीहरु बिहीबारदेखि सवारी चलाउन सहमत भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए। उनका अनुसार यातायात मजदुरहरुको कोरोना बीमाका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने र ५० प्रतिशत व्यवसायीले ब्यहोर्नेछन्। सवारीसाधनमा हिँड्ने श्रमिकहरुलाई मास्क, स्यानिटाईजर, पन्जा, पीपीई यातायात व्यवसायीले नै उपलब्ध गराउने छन्।

यस्तै, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भर्खरै सरकारले ल्याएको मौद्रिक नीतिले धेरै हदसम्म व्यवसायीका माग सम्वोधन गरेको र बाँकी केही माग यातायात विभागले सम्बोधन गर्ने भएपछि सवारी चलाउन आफूहरु सहमत भएको बताए।यस्तै, कोरोनाको संक्रमणबाट कुनै पनि यातायात मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिन कोष बनाउने विभागले मन्त्रालयमा सिफारिस गर्ने सहमति पनि भएको अध्यक्ष कर्माचार्यले बताए।

सरकारले काठमाडौं उपत्यकाको हकमा तीन जिल्लाभित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र सार्वजनिक सवारी चलाउन दिने निर्णय यसअघि नै गरिसकेको छ। अब बिहीबारदेखि जोर बिजोर प्रणाली अनुसार सवारीसाधन सञ्चालनमा आउने छन्।