काठमाडौं, साउन ६ : तीन दिनदेखि लगातार भइरहेको वर्षाले देशभरका नदीहरुमा पानीको सतह बढेको छ। नारायणी र अरुण नदीमा पानीले खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी र अरुणले आज बिहानैदेखि खतराको तह पार गरेका छन्। नारायणी नदीले चितवनको देवघाटमा खतराको तह पार गरेको हो।
बाढी पूर्वानुमान महाशाखाका अनुसार देवघाटमा पानी सतह ९।८७ मिटर पुगेको छ। यो स्थानमा ८ मिटरलाई खतरा तह मानिएको छ।त्यस्तै, नारायणी नदीले चितवनकै नारायणघाट पुलमा पनि खतराको तह नजिक पुगेको छ। पुलमा पानी तह ११ मिटर पुगेको छ। यो स्थानमा १२।५३ मिटरलाई खतराको तह मानिएको छ। महाशाखाले तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन आग्रह गरेको छ। अरुण नदीले पनि धनकुटाको सिम्लेमा खतराको तह पार गरेको छ। अरुणमा पानीको सतह ११।९७ मिटर पुगेको छ। यो स्थानमा ११ मिटरलाई खतराको तह मानिएको छ। अझै पानीको सतह बढ्दै गएको महाशाखाले जनाएको छ।
यसैगरि कालीगण्डी, पूर्वि राप्ती र तमोरमा पनि पानी चेतावनीको तहसम्म पुगेको छ। कालीगण्डी नदी म्याग्दीको तातोपानीमा ४।३ मिटर पुगेको छ। यो स्थानमा ४ मिटरलाई चेतावनीको तह मानिएको छ।पूर्वि राप्ती पनि मकवानपुरको राजैयामा खतरातको तह नजिक पुगेको छ। राप्तीमा पानीको सतह ३।३६ मिटर पुगेको छ। यो ठाउँमा चेतावतीको तह ३।३० मिटरलाई मानिएको छ भने खतराको तह ३।३७ मिटर रहेको छ। पानीको सतह बढिरहेको राजैया मापन केन्द्रले जनाएको छ।
यस्तै, तमोर नदी पनि धनकुटाको त्रिवेणीमा खतराको तह नजिक पुगेको छ। अहिले अरुणमा पानी ९।४३ मिटर पुगेको छ। यो स्थानमा खतराको तह १० मिटर मानिएको छ। पानीको सतह बढिरहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ। देशभरका अधिकांश नदीमा पनि पानीको सतह बढ्दै गएको छ। अझै दुई दिन पानी पर्ने र नदीमा बाढी आउनसक्ने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।