स्याङ्जा गल्याङ्मा पहिरोले आमाको मृत्यु, छोरी घाइते

प्रकाशित मिति:

भवानी अधिकारी । स्याङ्जा : वर्षासँगै झरेको पहिरोले घर पुरिंदा गल्याङ्मा आमाको मृत्यु भएको छ भने छोरी घाइते भएकी छन्। घर पूर्णरुपमा क्षति भएको छ। गल्याङ् नगरपालिका १० सिमलसौंरामा बुधबार बिहान गएको पहिरोले घर भत्केर पुरिंदा ५२ वर्षीया माया सारुको मृत्यु भएको हो भने उनकी २० वर्षीया छोरी नारायणी सारु घाइते भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

आमा छोरी मात्र बसेको घर बिहान उठ्दा पहिरोले पुरिएको छिमेकीले देखेपछि उद्धारमा जुटेका वडा अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनीले बताए। मृतकका पति रोजगारका लागि भारतमा छन्। करिब २५ मिटर माथिबाट झरेको पहिरोले घर पुरेको हो। उद्धार गरिएको छोरी सारुको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारपछि पोखरा पठाइएको छ।