वालिङमा छाडा चौपाया ब्यवस्थापन केन्द्र सञ्चालनमा

प्रकाशित मिति:

 तोलाकान्त बगाले – वालिङ, ७ साउन । स्याङ्जाको वालिङमा छाडा चौपाया ब्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । नेपाल लाईभ स्टक सेक्टर ईनोभेसन अन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाई पोखरा र वालिङ नगरपालिकाको संयुक्त लगानीमा छाडा चौपाया ब्यवस्थापन केन्द्र सञ्चालनमा ल्याईएको हो ।

वालिङ वडा नं. ८ र १० को स्वर्गाश्रममा छाडा चौपाया ब्यवस्थापन केन्द्रका लागि सहयोग इकाई पोखराबाट १५ लाख र वालिङ नगरपालिकाबाट १५ लाख गरी कूल ३० लाखको लागतमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । स्वर्गाश्रम भन्ने स्थानमा सार्वजनिक तथा ब्यक्तिगत नाममा रहेका जग्गालाई प्रयोग गरी गौशाला निर्माण गरेका हौं” नगर प्रमुख खाँणले भन्नुभयो, “गौशालामा हाल २६ वटा गाईहरु राखिएको छ, झण्डै तीनसयसम्म गाई राख्न सकिने क्षमताको गोठ निर्माण गर्न सकिने छ ।”

नेपालको राष्ट्रिय जनावरकोरुपमा रहेको गाई पछिल्लो समय जथाभावी छोडिदिंदा बालीनाली खाईदिने समस्या भएकाले तिनीहरुको उचित ब्यवस्थापनका लागि गौशाला निर्माण गरिएको नगर प्रमुख खाँणले बताउनुभयो । वालिङ नगरपालिकामा लाईभ स्टक सेक्टर पोखराले छाडा चौपाया ब्यवस्थापन कार्यका लागि सहयोग गरेकोमा कार्यालयप्रति आभार ब्यक्त गर्नुभयो । जथाभावी गाई छोडिदिंदा बालीनाली खाईदिने तथा सडकमा गाईको हुलले गर्दा सवारी आवत जावतमा समस्या तथा संभावित दुर्घटनाको जोखिम न्यूनिकरणका लागि चौपाया ब्यवस्थापन केन्द्र निर्माण गरिएको वडा नं. १० का वडा अध्यक्ष अनन्तराज गैह्रेले बताउनुभयो । गौशाला निर्माणसँगै छाडा पशु चौपायाहरुले बालीनाली खाईदिने समस्या हटेर जानुका साथै गाईको संरक्षण पनि हुने वडा अध्यक्ष गैह्रेको भनाई थियो ।

सार्वजनिक र ब्यक्तिगत गरी झण्डै दुई सय रोपनी क्षेत्रफल रहेको उक्त ठाउँमा गाईका लागि आवश्यक पर्ने घाँस रोपण गरिएको, दानापानी, घाँस पराल राख्ने ठाउँ, हेरालुहरुका लागि बस्ने भवन, गाईबस्तुका लागि खानेपानी संकलन गर्ने पोखरी लगायतका पूर्वाधार निर्माण भएको अध्यक्ष गैह्रेले बताउनुभयो । गाईका लागि चरन क्षेत्र पनि प्रशस्त भएकाले गाई पालनका लागि समस्या नहुने वडा नं. ८ का वडा अध्यक्ष कमलप्रसाद सुबेदीले बताउनुभयो । वालिङ बजार तथा आसपासका क्षेत्रमा छाडा छोडिएका पशु चौपायाका कारण स्थानीयको बालीनालीमा नोक्सानी भएको गुनासो अत्याधिक आउन थालेकाले पशु चौपायाको संरक्षणका लागि दीर्घकालीन योजनाकोरुपमा छाडा पशु चौपाया ब्यवस्थापन केन्द्र निर्माण गरिएको वडा अध्यक्ष सुबेदीले बताउनुभयो ।

ब्यवस्थापनमा केन्द्रमा आवश्यक पर्ने पशु आहाराका लागि विभिन्न उन्नत प्रजातिका घाँसहरुको बीउ तथा बेर्ना÷सेट (सुपर नेपियर) घाँसहरु नेपाल लाईभ स्टक सेक्टर ईनोभेसन अन्तर्गत विकेन्द्रित आयोजना सहयोग इकाई कार्यालय पोखराका प्रमुख डा. लक्ष्मण ढकालले बताउनुभयो । ब्यवस्थापन केन्द्रमा रहेका चौपायाहरुका लागि आवश्यक औषधि तथा उपचार पशु सेवा शाखा वालिङमार्फत आवश्यकता अनुसार उपलब्ध गराउँदै आएको पशु सेवा शाखा प्रमुख देबकुमारी श्रेष्ठले बताउनुभयो ।