सडकमा निर्वस्त्र उभिएर प्रदर्शन गर्ने : नेकेड एथेना

प्रकाशित मिति:

लस एन्जेल्स टाइम्स,  हावामा टियर ग्यासको धुवाँ रिङमिगिएको थियो। प्रदर्शनकारीहरू धुवाँ छल्न बीच सडकबाट लाखापाखा लागेका थिए।

त्यही बेला एक युवती धुवाँको बादल चिर्दै सडकमा देखापरिन् र सुम्सुम्ती प्रहरीतर्फ बढिन्।

छरिएका प्रदर्शनकारी हेरेका हेर्‍यै भए। अलि पर उभिएका प्रहरीले पनि केही कारबाही गर्न सकेनन्।

यो अमेरिकाको पश्चिम तटीय सहर पोर्टल्यान्डमा शनिबार राति भएको प्रदर्शनको दृश्य हो।

बीच सडकमा एक्लै सुरक्षाकर्मीको सामना गर्न तयार ती युवतीले आफ्नो साहसका कारण मात्र सबैको ध्यान तानेकी थिइनन्। उनले सबैलाई चकित पार्नुको अर्को कारण पनि थियो।

ती युवती बिल्कुलै नग्न अवस्थामा थिइन्। उनले शिरमा कालो टोपी र मुखमा कालो मास्कबाहेक अरू कुनै कपडा लगाएकी थिइनन्।

शनिबार मध्यरात १ः४५ बजे उनी यही अवस्थामा दर्जनौं सुरक्षाकर्मीसामु यस्तरी उभिइन्, मानौं उनी अमेरिकामा जारी विद्रोहकी प्रतीक हुन्।

उनको तस्बिर र भिडियो ट्वीटर लगायत सामाजिक सञ्जालहरूमा तात्तातै भाइरल भयो।

पछिल्लो समय अमेरिकामा जातीय विभेद लगायत जोखिमपूर्ण समूहको मुद्दा उठाएर देशव्यापी प्रदर्शन भइरहेको छ। शारीरिक रूपले नग्न र शान्त हाउभाउमा प्रस्तुत भएकी ती युवतीलाई त्यसैको प्रतीकका रूपमा हेरिएको छ।

उनी केही बेर सुरक्षाकर्मीसामु शान्त मुद्रामा ठिंग उभिएकी थिइन्। त्यसपछि उनलाई सुरक्षाकर्मीको आक्रमणबाट बचाउन एक प्रदर्शनकारी युवक अघि सर्छन्। उनी ती युवतीलाई छेक्दै अगाडि–अगाडि हिँड्छन्। युवती भने आफूलाई छेक्न आउनेलाई नै पन्छाउँदै छेउ लाग्छिन्।

कुनै उद्देश्य निम्ति सार्वजनिक स्थलमा नग्न प्रस्तुत हुनुलाई पोर्टल्यान्डमा राजनीतिक अभिव्यक्तिको माध्यमका रूपमा लिइन्छ। यसलाई अमर्यादित व्यवहार मानिँदैन।

सन् २००८ मा यसैगरी नग्न साइकल यात्रा गरिएको थियो। त्यति बेला काउन्टी न्यायाधीशले यसलाई ‘सांकेतिक प्रदर्शन’ मान्दै पोर्टल्यान्डको निम्ति यो स्थापित प्रचलन भएको व्याख्या गरेका थिए।

त्यसको चार वर्षपछि पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलमा एक व्यक्ति नग्न अवस्थामा पक्राउ परे। उनी यातायात सुरक्षा विधिको विरोध गरिरहेका थिए। मुद्दा सुनुवाइ क्रममा न्यायाधीशले ‘प्रदर्शनको वैधानिक विधि’ भन्दै उनलाई मुक्त गरे।

शनिबार मध्यरात त्यसरी नै नग्न अवस्थामा सुरक्षाकर्मीसामु उभिएकी युवतीलाई पनि पोर्टल्यान्डको प्रचलित मान्यताअनुरूप ‘सांकेतिक विरोध’ का रूपमा लिइएको छ।

ती युवतीले सुरक्षाकर्मीकै अगाडि नग्न अवस्थामा योगका विभिन्न आसन प्रस्तुत गरेकी थिइन्। उनले केही बेर एउटा खुट्टाको भरमा उभिँदै आफ्ना दुवै हात हावामा उचालेकी थिइन्। ब्याले नर्तकीले झैं विभिन्न मुद्रामा शरीर घुमाएर देखाएकी थिइन्। त्यस्तै, सुरक्षाकर्मीतर्फ मुख फर्काएर सडकमा थुचुक्क बस्दै आफ्ना दुवै खुट्टा फैलाएकी थिइन्।

झन्डै १५ मिनेटसम्म सडकमा विभिन्न हाउभाउ प्रस्तुत गरेपछि उनी केही बेर शान्त मुद्रामा उभिइन्। सुरक्षाकर्मीहरूको समूह त्यहाँबाट फर्किएपछि उनी पनि चुपचाप प्रदर्शनकारीको भीडमा अलप भइन्।

ती युवतीको परिचय खुलेको छैन। उनलाई सामाजिक सञ्जालहरूमा ‘नेकेड एथेना’ भनेर परिचय गराइएको छ।

पोर्टल्यान्डबाट प्रकाशित हुने अखबारहरूले आफ्नो वेबसाइटमा ती युवतीको विवरण प्रकाशित गरेका छन्। ओरेगन लाइभले फोटोग्राफर डेभ किलेनलाई उद्धृत गर्दै लेखेको छ, ‘उनी भीडबाट चुपचाप प्रकट भइन् र चुपचाप भीडमा हराइन्। त्यसबीच उनले एक शब्द बोलेको सुनिएन।’

‘उनी जसरी प्रस्तुत भइन्, त्यसले जोखिमपूर्ण समूहको प्रतिनिधित्व गरेको देखिन्थ्यो,’ किलेनले भनेका छन्, ‘त्यत्रो ठूलो प्रदर्शनको बीचमा नग्न प्रस्तुत हुनु र त्यसमाथि क्यामराको सामना गर्नु निकै साहसको काम हो।’

@Setopati