चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

प्रकाशित मिति:

काठमाडौँ – मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको हो । आज दिउँसो पनि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा पश्चिमी भू–भागमा नेपालबाट दक्षिण सरेको तथा पूर्वी भू–भागमा नेपाल नजिक रहेकाले दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।आइतबार र सोमबार पनि देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।@khabarhub