पाखापानीमा बासुकी नाग देवताको मन्दिरमा पुजा आराधाना

प्रकाशित मिति:

हरिश ढकाल- बुटवल, १० साउन । आज नाग पन्चमीका दिन बुटवल उपमहानगर २ स्थित पाखापानीस्थित बासुकी नाग देवताको मन्दिरमा हजारौं भक्तजनहरु द्धारा बिशेष पुजा आराधाना गरिएको छ । केही बर्षअघि माघे औंशीका दिन सो स्थानमा प्रत्यक्ष रुपमा बाशुकी नाग देवता प्रकट भएपछि स्थानिय समाजसेवी र नाग देवता उत्रेका माताहरुको सक्रियतामा मन्दिर स्थापना गरि पुजा आराधाना गर्ने गरिएको हो ।

स्थानिय धु्रव खनालका अनुसार बि.सं २०७५ माघ २० गते माघे औंसीका दिन प्रकट भएका नाग देवताले आफ्नो बासस्थान उचित संरक्षण नभएकाले यत्रतत्र भड्किएको भन्ने कुरा बिभिन्न माताजीहरु मार्फत राखेकोले मन्दिर निर्माण गरि माघे औंशी र नाग पन्चमीका दिन पुजा आराधना गरिएकोे बताए ।

नाग देवता प्रकट भएको ठिक ६ महिनामा गतबर्ष साउन २० गते सोमबार नाग पञ्चमी समेत परेकोले बिहान ८ बजे उक्त मन्दिरको बिधिवत उद्घाटन गरिएको पनि खनालले बताए । बासुकी नाग सेवा समितिका कोषाध्यक्ष समेत रहेका खनालले उक्त मन्दिरमा दुईवटा नागका मुर्तिहरु स्थापना गरिएको र त्यहाँ मन्दिरका लागि जग खन्ने क्रममा नागको प्रस्तर मुर्तीसमेत भेटिएकोले नाग देवताप्रति बिश्वास बढेको जानकारी गराए ।

यहाँ आउने श्रद्धालु भक्तजनहरुले मागे चिताएको पुग्ने गरेको र बिश्वास नगरि उक्त स्थान वरपर क्षति पुराएमा हानी नोक्सानी हुने गरेको अर्का स्थानिय टेकबहादुर रावलले बताए । उक्त मन्दिर समितिका सचिव समेत रहेको रावलले बासुकी नागको स्थापना गर्ने क्रममै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बासुकी नाग देवताले दर्शन दिएको र मनोकामना समेत पुरा हुने गरेको बताए ।