नमुना दलित बस्तीको नाममा व्यापक घोटाला, प्रश्न सोध्दा अध्यक्ष कुटिए

प्रकाशित मिति:

महेस सिंह सिरहा, ११ श्रावण । सिराहाको धनगढीमाई नगरपालिका–१२ मा निर्माण हुँदै गरेको मुसहर बस्तीको नाममा व्यापक घोटाला भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन । खाली चेकमा उपभोक्ता समितिको हस्ताक्षर गराई पैसा निकालेको भन्दै स्थानीयले आरोप लगाएका छन । उपभोक्ता समितिका अध्यक्ष राजकुमार सदा ले घोटाला बारे प्रश्न गर्दा उनी कुटिएका छन । वडा १२ स्थित मुसहर वस्तीमा ५० लाखमा कुल आठ वटा घर निर्माण भइरहेका छन् । घर निर्माणका लागि आवश्यक पर्ने सामानको जिम्मेवारी लिने ठेकेदार हरि मैनालीले उपभोक्ता समितिको अध्यक्ष सदालाई पिटेको स्थानीयले आरोप लगाएका छन । के कति पैसा झिकिएको सोध्न जादा मैनालीले उनलाई निर्घात कुटपिट गरेको एक प्रत्यक्षदर्शीले बताए । छलकपट गरि अध्यक्ष लगायत उपभोक्ता समितिको सदस्यहरू सङ्ग खाली चेकमा हस्ताक्षर गराई सबै पैसा निकालेको सदाको आरोप रहेको छ ।

उपभोक्ता समितिका अध्यक्ष कुटिएपछि स्थानीय मसहर समुदाय नै मैनाली विरुद्ध आन्दोलन गरेका छन । ‘दलित कुट्न पाइँदैन, कमिसनखोरी बन्द गर’ लगायतका नारा लगाई मुसहर समुदायले शनिबार बिरोध प्रदर्शन गरेका छन । ठेकेदार मैनालीको अनुसार उनले मुल्यांकन अनुसार रकम निकालेको हो । उनले भने ‘ मैले सामान आपूर्ति गर्ने हिसाबले नियम अनुसार ४३ लाख ९९ हजार आठ सय ७४ रुपैयाँ निकालेको छु । ‘ ठेकेदार मैनालीले पैसा निकालेको आफै स्विकारे पनि धनगढीमाईका प्रमुख प्रशासकिय अधिकृतले सबै पैसा भुक्तानी नभएको दावी गर्छन ।

गत माघ १६ गते शिलान्यास गरिएको नमुना मुसहर बस्ती जेठ १६ मा सम्पन्न भएको घोषणा गरिएपनी काम अझै धेरै बाकी रहेको मुसहर समुदायको गुनासो रहेको छ । तराई मधेस समृद्धि कार्यक्रमअन्तर्गत ५० लाख रुपैयाँमा दुई कोठा, भान्सा, शौचालय, बरण्डासहित जस्ता हालेका आठ घर निर्माण गर्ने उपभोक्ता समितिसँग नगरपालिकाले सम्झौता गरेको थियो ।