अल्छी हुनु बुद्धिमानीको संकेत !

प्रकाशित मिति:

कात्तिक २१ बुटवल । अमेरिकी अनुसन्धानकर्ताहरूले बडो अचम्मको कुरो पत्ता लगाएको दाबी गरेका छन् । त्यो के भने, अल्छी व्यक्ति सक्रिय रहनेहरूको दाँजोमा बढी बुद्घिमान् हुन सक्छन् रे । सर्तचाहिँ के छ भने, त्यस्ता अल्छी व्यक्तिहरू बढी समय चिन्तन गर्नेचाहिँ हुनुपर्छ ।

जर्नल अफ हेल्थ साइकोलजीमा प्रकाशित उपर्युक्त अध्ययन अनुसार सक्रिय व्यक्तिलाई आफ्नो मस्तिष्क सदैव ‘फ्रेस’ राख्नका लागि बढी सक्रियताको आवश्यकता पर्छ । यस्ता व्यक्ति बोर हुनबाट बच्नसमेत शारीरिक रूपमा बढी सक्रिय रहन्छन् । उच्च आईक्यू भएका व्यक्ति छिट्टै थाक्दैनन् ।

यसै कारण उनीहरू बढी समयसम्म चिन्तनमा व्यस्त रहन्छन् । अनुसन्धाताहरूले अध्ययन अन्तर्गत ३० जना विचारक र गैरविचारकलाई भेला पारे, तिनलाई दुइटा समूहमा बाँडे अनि सबैका हातहातमा एउटा यन्त्र लगाइदिए, जसका माध्यमले सक्रियताको स्तर निगरानी गरे ।

निचोडमा के देखियो भने, गैरविचारकको दाँजोमा विचार गर्ने समूह कम सक्रिय रहे । उसो त अनुसन्धाताहरूले के पनि भनेका छन् भने, कम सक्रिय व्यक्ति जतिसुकै विद्वान् भए पनि आफ्नो स्वास्थ्यका लागि उनीहरूले सक्रियताको स्तर नबढाई हुन्न ।

एजेन्सी