रेडक्रसमा हस्तक्षेप गर्ने सरकारको तयारी

संजिव थापा नेतृत्वको केन्द्रिय कार्य समितिलाई भंग गरेर नयाँ नेतृत्व सहितको तदर्थ समितिको तयारी

प्रकाशित मिति:

सबलपोष्ट /काठमाडौं
साउन ११ ।

यो पटक संयोजकमा प्रधानमन्त्री के.पी शर्मा ओलीका विश्वास पात्रका रुपमा चिनिने नेत्र तिमिल्सिना संयोजक बन्ने चर्चा नेकपा वृतमा छ

समयमै महाधिवेशन गर्न नसकेर विवादित बनेको नेपाल रेडक्रस सोसाइटीमा सरकारले हस्तक्षेप गरेर तदर्थ समिति बनाउने तयारी गरको छ । गत चैतमा महाधिवेशन गर्नुपर्ने भए पनि कारोनाको कारण देखाउँदै महाधिवेशन टार्दै आएको संजिव थापा नेतृत्वको केन्द्रिय कार्य समितिलाई भंग गरेर नयाँ नेतृत्व सहितको तदर्थ समितिको तयारी गरेको हो ।

एक वर्ष अगाडि जेठ ६ पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रा.डा विश्वकेशर मास्केको संयोजकत्वमा १७ सदस्सीय तदर्थ समिति बनाएर थापा नेतृत्वको कार्य समितिलाई कारवाही गरेको थियो तर तत्कालै थापा नेतृत्वको कार्य समिति सर्वोच्चमा गए पछि उक्त निर्णयलाई बदर गर्दै थापा नेतृत्वको समितिलाई राहत दिएको थियो ।
लामो समयसम्म विवादमा रहेको वर्तमान रेडक्रस कार्य समितिलाई यस पटक गाह्रो पर्ने देखिएको छ । बहुसंख्यक प्रजातान्त्रिकहरु (काँग्रेस समर्थक)रहेको समितिमा यस पटक सरकारसँग मिलेर काँग्रेस नै तदर्थ समिति गठन गर्नुपर्नेमा खुलेर लागे पछि सरकारलाई हस्तक्षेप गर्न झनै सहज हुने देखिएको हो ।

नेकपा र काँग्रेसको बाँडफाँड , कसले गर्दैछ नेतृत्व ?

एक वर्ष अगाडि फूलको बुकी लिएर संयोजक बनेर भित्रिएका बदर तदर्थ समितिका संयोजक मास्केले भने यो पटक संयोजक नपाउने निश्चित जस्तै रहेको एक रेडक्रसकर्मीले बताए । यो पटक संयोजकमा प्रधानमन्त्री के.पी शर्मा ओलीका विश्वास पात्रका रुपमा चिनिने नेत्र तिमिल्सिना संयोजक बन्ने चर्चा नेकपा वृतमा छ । नेकपाले टाउकै ताकेको र बाँकी पदमा काँग्रेसलाई रोज्न दिने बताए पछि काँग्रेस पनि लगभग संयोजक नेकपाले अगाडि सारेको व्याक्तिलाई स्विकार्न तयार छ । सबै पदाधिकारी आफ्नो भागमा पारेको काँग्रेसले उपाध्यक्षमा गत वर्षका बदर कार्य समितिका संयोजक मास्केलाई ल्याउने तयारी गरेको छ । सदस्यमा दुवै पार्टीको बराबर सहभागिता  रहने गरि समिति बनाउने सरकारको तयारी देखिएको छ ।

महामन्त्रीमा को जाने भन्नेमा काँग्रेसमा हानथाप

पूर्व उपाध्यक्ष समेत रहिसकेका वर्तमान कार्य समितिका सदस्य सुरेन्द्र ऐरलाई काँग्रेसले सदस्यमा सिमित गर्न खोजे पछि पार्टी भित्रै बिरोध शुरु भएको हो ।

उता महामन्त्री लगायत पद पाउने भएको काँग्रेसमा महामन्त्री कसलाई बनाउने भन्नेमा हानथाप शुरु भएको छ । काँग्रेसले पूर्व कर्मचारी समेत रहेका पिताम्बर अर्याललाई अगाडि सारेको बुझिएको छ तथापी पूर्व उपाध्यक्ष समेत रहिसकेका वर्तमान कार्य समितिका सदस्य सुरेन्द्र ऐरलाई काँग्रेसले सदस्यमा सिमित गर्न खोजे पछि पार्टी भित्रै बिरोध शुरु भएको हो । ऐर यस विषयमा बोल्न नचाहे पनि उनलाई महामन्त्रीमा लैजानको लागि काँग्रेसमा दवाव शुरु भएको छ । ऐर लामो समय कार्य समितिमा रहेका र स्वच्छ छवि भएका रेडक्रसकर्मीको रुपमा चिनिन्छन् । उनी वर्तमान समितिका धेरै निर्णय बिरुद्ध एक्लै भए पनि लड्दै आएकाछन् । एक रेडक्रसकर्मीले भने,‘ पिताम्बर अर्याल लामो समय निर्देशकको रुपमा रेडक्रसमा रहनुभएको हो, अहिलेको समितिले गरेका धेरै विवादित निर्णयमा उहाँको संलग्नता छ, कसरी उहाँलाई महामन्त्रीमा स्विकार्ने ? अहिलेको आवश्यकता सुरेन्द्र ऐर नै हो ।’ पूर्व कर्मचारी महामन्त्री भएको ठाउँमा बसेर ऐरले काम गर्न नहुने उनको तर्क छ । ऐर संभावित अध्यक्षका उमेद्धार पनि हुन् । ऐरले नस्विकारे पनि महामन्त्री बाहेकका पदमा  बस्न तयार छैनन् । उनी आउँदो महाधिवेशनबाट अध्यक्षमा लड्ने तयारीमा देखिएकाछन् ।
काँग्रेसले उपमहामन्त्रीमा बिनोद बस्नेत, सदस्य मनोज थापा लगायतका १४ जना सिफारिस गर्दैछ ।

साउन ३० मा महाधिवेशन गर्ने वर्तमान समितिको तयारी

सरकारले तदर्थ समितिको तयारी गर्दै गर्दा थापा नेतृत्वको वर्तमान कार्यसमितिले भने आगामी साउन ३० महाधिवेशन गर्ने घोषणा गरेको छ । गत चैत मा अधिवेशन गर्नुपर्नेमा थप तीन महिना समय पाएकोमा त्यो पनि टरेपछि समिति बैधानिक संकटमा छ । एकातिर रेडक्रस जस्तो पवित्र संस्थामा राजनैतिक हस्ताक्षेप अर्को तिर नेतृत्वको गैरजिम्मेवारीपुर्ण कार्यले रेडक्रसलाई बदनाम गर्ने प्रयत्न भएको रेडक्रसकर्मीको गुनासो छ ।