स्याङ्जामा संक्रमित बढेपछि पुतलीबजार १० दिन बन्द

प्रकाशित मिति:

भवानी अधिकारी ।   स्याङ्जा । पुतलीबजार नगरपालिका मंगलबारदेखि पूर्ण बन्द गरिने भएको छ। कोरोना भाइरस संक्रमण बढेसँगै नगरपालिका सिल भएको हो।कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मंगलबारदेखि १० दिनका लागि पुतलीबजार सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारी दिए। कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने अनुमान गर्दै सचेत र सावधानी अपनाउनु पर्ने बैठकको निष्कर्ष छ। नगरभित्र कोरोना संक्रमण फैलन नदिने उद्देश्यले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नगरबासीलाई आग्रह गरिएको छ। बाहिर निस्कनु परेमा अनिवार्य माक्स, सेनिटाइजरको प्रयोग गर्न र उच्च सतर्कता अपउनाउन सुझाव छ।

सार्वजनिक तथा निजी सवारी साधन सबै बन्द गरिने, अत्यावश्यकबाहेक सम्पूर्ण पसल बन्द गरिने, बैंक तथा वित्तीय संस्थाले नियन्त्रित भइ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ सेवा प्रवाह गर्नु पर्ने, अत्यावश्यकबाहेकका पसल तथा अन्य व्यवसाय, उद्योग बन्द गराउन व्यवसायीका छाता संगठनलाई जानकारी गरेको प्रजिअ क्षेत्रीले बताए।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत २१ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएसँगै संक्रमण समुदायमा फैलन नदिन नगरपालिका सिल गरिएको हो। पुतलीबजारमा हालसम्म २८ जना कोरोना संक्रमित पुष्टि भएका छन् भने ५ जना निको भएर घर फर्केका नगर स्वास्थ्य प्रमुख विष्णु काफलेले जानकारी दिए। जिल्लाभर संक्रमितको संख्या २ सय २३ पुगेको छ। तीमध्ये १ सय ८३ जना निको भएर घर फर्केका छन् भने २ जनाको मृत्यु भएको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले बताए।