प्राकृतिक प्रकोपबाट मृतकका परिवारलाई गल्याङ नगरपालिकाले एक लाख दिने

१३ श्रावण २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट निधन भएका परिवारलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नगर कार्यपालिकाको बैठकले प्राकृतिक विपत्तिमा परी निधन भएमा परिवारलाई एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै, प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा विलका आधारमा २५ हजार रुपैयाँ सम्म राहत स्वरुप सहयोग गर्ने निर्णय पनि गरिएको छ । लगातारको वर्षातका कारण नगरपालिका भित्रका केही स्थानहरुमा मानवीय तथा भौतिक क्षति भएपछि यस्तो निर्णय गरिएको हो
बैठकले प्राकृतिक विपदका कारण निधन भएका व्यक्तिमा श्रद्वाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले लगातारको वर्षातका कारण केही ठाउँमा विपदको अवस्था आएको भन्दै नगरपालिकाले विभिन्न योजनाहरु ल्याएको बताउनुभयो ।  उहाँले भन्नुभयो –‘सकेसम्म विपदको अवस्था नआओस् भनेर पूर्व साबधानी अपनाइएको छ, त्यसो हुँदाहुँदै पनि कहिलेकाँही विपदको सामना गर्नुपरेको छ । हामीले पीडितलाई राहतको लागि प्याकेज ल्याएका छौं । नगरप्रमुख अधिकारीले नगरपालिका भित्र पहाडी क्षेत्र बढि भएकाले पहिरोको जोखिम उच्च रहेको बताउनुभयो ।  प्राकृतिक विपदलाई कसैले रोक्न नसक्ने भन्दै उहाँले जोखिम कम गर्न सबै नगरवासी सतर्क हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो –‘विस्थापित हुनुपर्ने अवस्था भएमा नगरवासीको संरक्षण गर्न नगरपालिका प्रतिबद्व छ । कुनै पनि समस्या भएमा सम्पर्क गर्न अनुरोध गर्दछु ।’नगर कार्यपालिका बैठकले विस्थापित परिवारलाई आवश्यकताका आधारमा नुन, तेल, दाल, चामल सहितका खाद्यान्न सामाग्री वितरण गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।  वर्षातका कारण बजार देखि टाढा रहेका ठाउँहरुमा खाद्यान्न अभाव हुन नदिन मुख्य बाटोहरु तत्काल खोलिने उहाँले बताउनुभयो ।  प्रमुख प्रशासकीय अधिकृत पाण्डेले भन्नुभयो –‘डोजर तथा स्काभेटर प्रयोग गरेर गल्याङबाट ग्रामिण क्षेत्रमा चल्ने मुख्य सडकहरु खुलाउन नगरपालिकाले पहल गरिसकेको छ ।’
प्रत्येक दिन अधिकांश कच्ची बाटोहरु अबरुद्व भइरहँदा दैनिक रुपमा बाटो खुलाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

यस्तै, वर्षातको कारण खानेपानी र सिंचाइमा देखिएको समस्या समाधानमा पनि नगरपालिकाले तुरुन्तै काम गर्ने उहाँले स्पष्ट पार्नुभयो । वडा भित्र चाहिने पाइपको बारेमा सम्बन्धित वडाहरुले तथ्याङ्क राखी नगरपालिकाबाट त्यसको समाधान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सिद्वार्थ राजमार्गको नगरपालिका भित्र पर्ने क्षेत्रमा बाटो अवरुद्व भएमा नगरपालिकाले नै खुलाउने तय भएको छ । नगरपालिकाले पहिरोबाट जोखिम रहेका परिवारहरुलाई त्रिपाल वितरण गरिरहेको छ । यसै वर्षको वर्षात्को समयमा मात्रै नगरपालिकाबाट सानो ठूलो आकारको गरी तीन सयको संख्यामा त्रिपाल वितरण गरिएको नगरपालिकाका स्टोर शाखा प्रमुख सन्तोष कोइरालाले जानकारी दिनुभयो ।

गल्याङ नगरपालिकामा पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यस्तै, प्राकृतिक विपत्तिका कारण करिब दुई दर्जन घर परिवार विस्थापित भएका छन् भने कयौं घर उच्च जोखिममा रहेका छन् । विभिन्न ठाउँमा खसी बाख्रा, कुखुरा गोठ तथा खोर एवम् पशु चौपायामा हालसम्म करिब तीन लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । यस्तै, हाल करिब दुई सय ५० रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको छ । केही स्थानमा खानेपानीको मुल तथा सिंचाईका लागि कुलोमा क्षति भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया