आयल निगम भलबारी डिपोद्वारा विद्यालयलाई एकलाख रुपैयां सहयोग

प्रकाशित मिति:

बुटवल, १४ साउन । नेपाल आयल निगम प्रादेशिक डिपो कार्यालय भलबारीले स्थानीय एक विद्यालयलाई एक लाख रुपैयां सहयोग गरेको छ । निगम नजिकै तिलोत्तमा नगरपालिका–७ स्थित प्रभात आधारभूत विद्यालयलाई निगमले खेलकुद र सरसफाईका लागि एक लाख रुपैयां सहयोग गरेको हो । डिपो कार्यालयका प्रमुख इन्जिनियर सुरज शाहले विद्यालयका प्रधानाध्यापक दामोदर घिमिरेलाई मंगलबार एक लाख रुपैयांको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै डिपो कार्यालय प्रमुख शाहले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत छिमेकमा रहेको सरकारी विद्यालयको आवश्यकता र माग वमोजिम सहयोग गरिएको बताए । सो अवसरमा निगमका प्रबन्धक इन्जिनियर शैलेश भुसालले निगमले डिपो कार्यालय भित्र पनि थुप्रै सुधारका काम शुरु गरेको बताए । विद्यालयलाई सहयोग रकम दिलाउन पश्चिमाञ्चल टेंकर व्यवसायी संघका उपमहासचिव प्रेम जीएमले निगमको डिपो कार्यालयसंग पहल र समन्वय गरेका थिए । कार्यक्रममा विद्यालयका अध्यक्ष ठाकुरप्रसाद पंगेनी, पश्चिमाञ्चल टेंकर व्यवसायी संघका महासचिव भुपराज अर्याल,नियमका लेखा प्रमुख रमेश ज्ञवाली लगायतको उपस्थिति रहेको थियो । २०४८ सालमा स्थापना भएको विद्यालयमा २ सय २६ जना विद्यार्थी र ११ जना शिक्षक रहेका छन् ।