गल्याङमा आठ जनामा कोरोना पोजिटिभ, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा आठ जनामा कोभिड १९ कोरोना भाइरस पोजिटिभ देखिएको छ । बुधबार आएको रिपोर्टमा ६ जना क्वारेन्टानमा बसेका र अन्य दुई जनालाई कोरोना संक्रमणको भाइरस पोजिटिभ देखिएको हो ।  अन्यमा एक जना औषधी पसल व्यवसायी र एक प्रहरी रहेका छन् ।  गल्याङमा ४२ जनाको रिपोर्ट संकलन गरिएकोमा ३८ जनाको नतिजा आएको थियो । जसमध्ये ३० जनाको नतिजा नेगेटिभ आएको छ ।

यसैवीच, गल्याङमा अत्यवाश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने भएको छ । बुधबार बसेको गल्याङ नगर स्तरीय विपद व्यवस्थापन समन्वय समितिको बैठकले साउन २३ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय स्याङ्जा तथा कोभिड संक्रमण व्यवस्थापन केन्द्र (ऋऋःऋ) ले जिल्लामा कोरोना जोखिम बढ्दै गएको भन्दै अत्यावश्यक बाहेकका सेवा प्रवाह नगर्न पत्राचार गरेको थियो । कोरोना भाइरस (कोभिड १९) को जोखिम गल्याङमा बढ्दै गएको र समूहमा पनि संक्रमण देखिइसकेको भन्दै नगरपालिकाले साबधानी अपनाउन नगरवासीलाई अनुरोध गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जारी गर्नुभएको सूचनामा गल्याङ नगरपालिका र अन्तर्गत वडा कार्यालयहरुमा पनि अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह नगर्न÷नगराउन अनुरोध गरिएको छ । यस्तै, गल्याङ नगरपालिका भित्र बैंक तथा वित्तीय संस्था लगायतका संस्थाहरुले पनि अत्यावश्यक सेवा बाहेकका सेवा प्रवाह नगर्ने÷नगराउने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ । यस्तै, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, निस्कनु पर्दा अनिवार्य मास्कको प्रयोग गर्न, बारम्बार साबुन पानीले मिची मिची हात धुन र सामाजिक दुरी कायम गर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।यस्तै, गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले कोरोना संक्रमणको जोखिम बढेको भन्दै थप सतर्क रहन अनुरोध गर्नुभएको छ । उहाँले नआत्तिन र सतर्क रहन सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको हो ।