स्याङ्जामा फेरी सल्कियो कोरोना संक्रमण , सुरक्षाकर्मी देखि समुदायस्तर सम्म

प्रकाशित मिति:

स्याङ्जा—१५ साउन- असार मसान्त सम्म स्याङ्जामा कोरोना संक्रमणको अवस्था हेर्दा धेरै न्युनिकरण देखिएको थियो । अब स्याङ्जा कोरोना मुक्त जिल्ला हुदै छ भन्ने आकडा हुदै थियो । असार मसन्त सम्म जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार कोरोना संक्रमित १२ जना मात्रै आईसोलेसनमा उपचारार्थ रहेका थिए । साउनको दोस्रो साता देखि फेरी स्याङ्जामा एकाएक कोरोना संक्रमणको संख्या हुवात्तै बढेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ३ जना सुरक्षाकर्मीमा रुघाखोकी लागेपछि उनीहरुको स्वाव लिइएको थियो । ३ जनामै कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय मातहतका सबै सुरक्षाकर्मीको स्वाव परिक्षण गरिएपछि अहिले स्याङ्जामा प्रहरीका उच्च अधिकारी सहित ३९ जनामा कोरोना संक्रमण देखिएको छ । नागरिकको शान्ति सुरक्षा लगायत विपत्तिमा नजिक बसेर सेवा दिने सुरक्षाकर्मीमा संक्रमण देखिएपछि स्याङ्जामा यतीबेला सन्त्रासको अवस्था रहेको छ ।

स्वास्थ्य प्रयोगशाला पोखरामा प्रहरी कार्यालयबाट श्वाब परिक्षण गर्न पठाईएको १ सय ३ मध्ये ३९ जनामा संक्रमण देखिएको छ भने अझै ५ जनाको स्वाव परिक्षण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले बताए । उनका अनुसार दुई जना थुनुवा र एक जना सुरक्षाकर्मीको बच्चामा समेत संक्रमण देखिएको छ । अहिले सम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अधिकारीले बताए ।

अहिले जिल्लास्थित करेन्डाँडा र हेलुमा रहेका आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ । अहिले सम्म स्याङ्जामा ६७ जनाको आइसोलेसनमा उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए । हाल सम्म स्याङ्जामा २ सय ६० संक्रमित मध्ये १ सय ९१ निको भएर घर फर्किसकेका छन् । २ जनाको कोरोना संक्रमणबाट निधन भइसकेको छ । यता गल्याङ नगरपालिकामा मेडिकल व्यवसायी सगै क्वारेन्टीनमा बसेका मानिसहरुमा पनि कोरोना संक्रमण देखिएको शर्माले बताए । मेडिकल व्यवसायीमा समेत कोरोना संक्रमण देखिएपछि समुदाय सम्म फैलिएको हुन सक्ने आशंका गरिएको छ । जिल्ला स्वास्थ्य प्रमुख शर्माका अनुसार २ सयभन्दा बढीको स्वाव आउन बाँकी रहेको र २ सयभन्दा बढी क्वारेन्टीनमा रहेका छन् । सुरक्षाकर्मीमा कोरोना भेटिएपछि जिल्ला प्रहरी कार्यालय सिलगरिएको छ । कार्यालय सिल भएपछि कार्यालयबाट सम्पादनहुने काम विद्युतीय सेवाबाट प्रबाह गरिएको छ । अन्य शान्तिसुरक्षाको काम कारवाहि वडा प्रहरी कार्यालय वालिङबाट हुदै आएको छ ।