मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु

१९ श्रावण २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


सिन्धुपाल्चोक, साउन १९ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएको पहिरोमा बेपत्ता आठै मजदुरको ज्यान गएको छ। आज बिहान साढे ३ बजे गएको पहिराले निर्माणधीन कभर्ड हल पुरिँदा आठ मजदुर बेपत्ता भएका थिए। उनीहरु सबैको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले बताए।

मृत्यु हुनेहरुमा पाँच जना सिमराका, दुई जना पर्साका र एक जना भारतीय नागरिक रहेका छन्। उनीहरु सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा भारतीय नागरिक ४२ वर्षीय राजेन्द्र चौरसिया, पर्साको वीरगञ्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, २१ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेका छन्।

पहिरोले निर्माणाधीन कभर्ड हलसँगै मजदुर बस्दै आएको कटेरो पुरिएको थियो। त्यहाँ रहेका नौ जनामध्ये भारतीय नागरिक ३५ वर्षीय बारु साहलाई स्थानीय वासिन्दाले उद्धार गरेका थिए।उनी गम्भीर घाइते रहेका छन्। सिन्धुपाल्चोकमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत काठमाडौं लगिएको डिएसपी काफ्लेले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया