जिउँदो हुने विश्वासमा पाँच दिनसम्म शव घरमै

२१ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


टीकापुर, साउन २१ । मरेको मान्छे जिउँदो हुने विश्वासमा कैलालीको टीकापुर नगरपालिका–१ गणेशपुर शिविरमा शव पाँच दिनसम्म घरमै राखिएको पाइएको छ। स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीय वासिन्दाले प्रहरीलाई खबर गरेपछि मात्रै घरमै रहेको खुलेको हो। बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो।

शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटु रोगबाट पीडित थिए। बाँकेको कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो।मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पास्टरको घर लगिएको मोतीरामका छोरा ईश्वर डगौराले बताए। पास्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए। पास्टर पनि शवमा पसिना आएर गन्ध आएको र लास उठ्ने विश्वासमै थिए। तर, मंगलबार बिहान गन्धले खाना खान नसकिने भएको छिमेकीले बताए।

पास्टर दीपक चौधरीले टीकापुर नगरपालिका–४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताएका थिए। मंगलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको थियो। प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए। @kathamandupress

फेसबुकबाट तपाईको प्रतिक्रिया