महाकवी देवकोटाको ११० औं जन्मजयन्ती आज मनाईयो

प्रकाशित मिति:

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । बुद्ध सामुदायिक टेलिभिजनले समेत गत सोमबार देवकोटाको सम्झनामा एक कार्यक्रमको आयोजना गरेको थियो । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उहाँले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभयो । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्रा्ष्ट्रियस्तरमा चिनाउनुभयो ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँका सृजनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो । ११० औं लक्ष्मी जयन्तीको अवसरमा नवलपरासीमा रचना वाचन तथा स्रष्टा सम्मान गरिएको छ ।

चार साहित्यकार र १ पत्रकारलाई सम्मान गरिएको हो । भारत असामका कृण्णविक्रम राना, असामकै देविमाया सापकोटा, चितवनकी मिरा तिमिल्सिना र पर्वतका महेन्द्र प्रकाश शाही रहेका थिए भने पत्रकारमा नेपाल प्रेस यूनियन, नवलपुरका सभापति विरेन्द्र पराजुलीलाई सम्मान गरिएको लक्ष्मी स्मृति साहित्य समाजका संरक्षक सदानन्द अभागीले बताए । नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याए बापत उनीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सदानन्द अभागीको समालोचना संग्रह, पुस्तकको विमोचन पनि गरिएको थियो । लक्ष्मी स्मृति साहित्य समाजका अध्यक्ष सदानन्द अभागीको अध्यक्षता भएको कार्यक्रममा बरिष्ठ साहित्यकार केशवराज आमोदीले सम्मानित भएका स्रष्टा तथा पत्रकारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।