कांग्रेसले क्रियाशील सदस्य १० लाख पुर्‍याउने

२२ श्रावण २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, साउन २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप बसेको शीर्ष नेताको बैठक विनानिष्कर्ष सकिएको छ। विभाग गठनसँग मनोनयनका विषयमा पार्टीभित्र देखिएको विवादमा सहमति खोज्न बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा सहमति नजुटेको हो। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशनको मिति तोकिइसकेको अवस्थामा सभापति देउवाले एकलौटी ढंगले विभाग गठन र विभागमा मनोनयन गरेको भन्दै विरोध गर्दै आएको छ।

विवादबारे छलफल भएपनि निष्कर्ष निस्कन नसकेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले बताए।विभागका सन्दर्भमा देखिएका विवादका विषयमा छलफल भयो। हामीले असहमति राख्यौं। तर, निष्कर्ष भने निस्कन सकेन। हाम्रो असहमति कायमै रहन्छ,’ केसीले काठमाडौंप्रेससँग भने,‘तोकिएकै मितिमा महाधिवेशन गर्ने सन्दर्भमा देखिएका समस्याबारेमा छलफल भयो। यस्तै क्रियाशील सदस्यता वितरण पारदर्शी बनाउने विषयमा समेत कुरा भएको छ। बैठकले क्रियाशील सदस्यता शतप्रतिशत थपेर १० लाख पुर्‍याउने निर्णय गरेको छ। ‘यसअघि हाल कायम रहेको क्रियाशील सदस्य संख्यामा ५० प्रतिशत थप गर्ने भनेका थियौं। तर, जिल्ला, क्षेत्र, नगर र गाउँको माग अनुसार शत प्रतिशत थप गर्ने सहमति भएको छ,’ केसीले भने,‘यसबारेमा आधिकारिक निर्णय चाहिँ केन्द्रीय समिति बैठकले गर्नेछ।’

हाल कांग्रेसका चार लाख ९८ हजार ४७६ क्रियाशील सदस्य छन्। यो संख्यामा शतप्रतिशत थप गर्दा कांग्रेसका करिब १० लाख क्रियाशील सदस्य हुनेछन्।बैठकमा महाधिवेशन समयमै गर्न कोरोना महामारीले पुर्‍याउन सक्ने असर, पार्टीका भ्रातृसंस्थाहरुको म्याद थप र विस्तार, १४औं महाधिवेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, पार्टी प्रवेश गरेका नेता–कार्यकर्ताको व्यवस्थापन लगायतका विषयमा छलफल भएको छ।बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया