कोरोनाका विरामी निको बनाउने औषधि बनाएको दावी , परीक्षण गरिदिन सरकारसंग माग

प्रकाशित मिति:

सबलपोष्ट साउन, बुटवल । रुपन्देहीको एक जडिबुटी सहकारीले कोरोना भाइरस संक्रमित विरामी निको बनाउने औषधि बनाएको दावी गरेको छ । भैरहवाको त्र्यम्बकम जडिबुटी सहकारी संस्था लि.ले जडिबुटीको मिश्रणबाट बनेको ‘अर्कबटी’ नामक ट्याब्लेटले कोरोना संक्रमित विरामी निको हुने दावी गरेको हो । सहकारीका अध्यक्ष डा.बद्री गौतमले आफू जडिबुटीजन्य औषधीको अनुसन्धानमा २९ वर्षदेखि काम गर्दै आएको र विश्वमा कोरोना भाइरस संक्रमण देखिएपछि ‘अर्कबटी’ ट्याब्लेट बनाएर परीक्षण गर्दा संक्रमितहरु निको भएको दावी गरे । आफूले बनाएको औषधि रुपन्देही, कपिलवस्तु र भारतको नौतनवाका कोरोना संक्रमितले प्रयोग गरेका र हालसम्म पांच सय जना भन्दा बढी निको भएको डा. गौतमको दावी छ । यो औषधिको साइड इफेक्ट नहुने भएकाले प्रयोग गर्दा कुनै बेफाइदा नहुने उनले बताए । ‘लक्षण भएका विरामी १० दिनमा र नभएका एक हप्तामा निको हुन्छन्’–उनले भने–‘सरकारले विदेशीले बनाउने औषधिलाई मात्रै पत्याउने कि नेपालीले गरेका खोज–अनुसन्धानलाई पनि परीक्षण गरेर हेर्ने ?’

कोरोना निको पार्ने औषधि बनाएको थाहा पाएपछि प्रशासनले पक्राउ गर्न पनि खोजेको तर आफूले वास्तविकता बुझाएपछि पक्राउ नपरेको उनले दावी गरे । २०६८ सालमा सहकारी विभाग अन्तर्गत दर्ता भएको सहकारीले जडिबुटी खेती, चिकित्सालय र जडिबुटी प्रशोधन उद्योग सञ्चालन गरेको छ । कोरोना निको पार्ने दावी गरिएको औषधिको ट्रडमार्क औषधि व्यवस्था विभागमा दर्ता गर्ने प्रकृयामा रहेको डा. गौतमले बताए । जडिबुटी वैज्ञानिक भनेर कहलिएका डा.गौतमको अग्रसरतामा २०५८ सालमा रुपन्देही सदरमुकाम भैरहवामा स्थापना भएको सहकारीमा एकहजार ८ जना शेयर सदस्य छन् । ४ करोड शेयर पुंजी रहेको सहकारीले ४ करोड ५२ लाख रुपैयां मूल्यको ब्यापारयोग्य जडिबुटीका बिज,विरुवा विदेशबाट आयात गरेर खेती गरेको छ ।

सहकारीले कवच, अश्वगन्धा,त्र्यम्बखर,लेमन ग्रास,पामारोजा, चित्रक,जेठी मधु,निषेध,शिवालिक,तुलसी लगायतका करिब डेढसय प्रजातिका औषधिजन्य जडिबुटी खेती गरिरहेका छन् । सदस्यले उत्पादन गर्ने जडिबुटी सहकारीले खरिद गरिदिने ग्यारेन्टी गरेको छ । जडिबुटी खेती र औषधिमार्फत ४० लाख जनालाई रोजगारी दिने खाका र योजना आफूसंग भएपनि सरकारले उपेक्षा गरेको उनको गुनासो छ ।