पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको मृत्यु

२३ श्रावण २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – पाटन अस्पतालमा उपचार गराइरहेका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जका ४५ वर्षीय पुरुषको बिहीवार साँझ मृत्यु भएको हो । अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले उनको मृत्यु भएको बताए । डाक्टरका अनुसार ती पुरुषमा मधुमेह र रक्तचापको समस्या थियो । ती पुरुषलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । उनलाई स्टार अस्पतालमा हुँदा नै कोरोना पोजेटिभ देखिएको थियो । यसैगरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २५ वर्षीय पुरुषको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

सिरहा निवासी उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटाले जानकारी दिए ।ती युवक मिर्गौलाका बिरामी थिए । उनको साउन १९ गते स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । साउन १९ मा उनमा कोरोना संक्रमण भएको नतिजा आएको थियो ।उनले दुई वर्षदेखि डायलासिस गराउँदै आएका थिए । जनकपुर अस्पतालमा डायलासिस गराउँदै आएका ती पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनलाई धरान रिफर गरिएको थियो । पछिल्लो विवरणअनुसार नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएको संख्या ६९ पुगेको छ ।@khabarhub

फेसबुकबाट तपाईको प्रतिक्रिया