युट्युबरलाई पत्रकार आचारसंहिता पालना गर्न अनलाईन टिभी पत्रकार संघको आह्वान

प्रकाशित मिति:

काठमाडौँ, २३ साउन । युट्युबलगायतका अनलाईन टिभी सञ्चारकर्मीहरुलाई पत्रकार आचारसंहिता २०७३ को मर्म अनुसार काम गर्न अनलाईन टिभी पत्रकार संघले आह्वान गरेको छ ।  बाल गृह संचालिका पुष्पा अधिकारीसँग केही अनलाईन टिभी सञ्चारकर्मीहरुले गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेका बेला संघले त्यस्तो व्यवहार नगर्न र पत्रकार आचारसंहिताको ख्याल गर्न आग्रह गरेको हो ।
संघका महासचिव राजु सुवेदीद्धारा जारी वक्तव्यमा तत्काललाई पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाडै नै अनलाई टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको उल्लेख गरिएको छ ।

संघले युट्युबर लागयतका अनलाईन टिभी पत्रकारहरुलाई सामाजिक दायित्व नभुलेर आफुलाई सुधार्दै लैजान आग्रह पनि आग्रह गरेको छ ।
एकातिर विद्धमान सञ्चार कानुनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कोतर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशिल साथीहरुलाई सिक्ने÷सिकाउने र संगठित हुने वातावरण पनि बनिनसकेकाले अन्यौलता रहदै आएको वक्तव्यमा लेखिएको छ । गत बर्ष २०७६ माघ २४ गते नेपालमा पहिलो पटक अनलाईन टिभी सञ्चालकहरुको पहिलो राष्ट्रिय भेला मार्फत् गठन भई दर्ता समेत भइसकेको अनलाईन टिभी पत्रकार संघले सवै अनलाईन टिभी पत्रकारहरुलाई संघमा आवद्ध भएर यस क्षेत्रको शुद्धिकरण र सुदृढिकरणमा लाग्न पनि आग्रह गरेको छ ।
“पत्रकारिता क्षेत्रमा नवआगन्तुक साथीहरुबाट धेरै कमजोरी भएकै छन् । तर पुराना सवै ठिक छन्, नयाँ सवै बेठिक छन् भन्नेगरी भइरहेको प्रचारप्रति हाम्रो आपत्ति छ । कमजोरी सुधार्न साथीहरु तत्पर नै भएको देखिन्छ । उहाँहरुलाई दर्शक तथा सुवेच्छुकहरुबाट प्राप्त सुझाव तथा सल्लाह स्वागतयोग्य नै हुन्छ,” वक्तव्यमा लेखिएको छ । संघको वक्तव्य जस्ताको तस्तै :

अनलाईन टिभी पत्रकार संघ, नेपाल  हार्दिक अपिल-सूचना प्रविधिको विकाससँगै पत्रकारिताको स्वरुपमा पनि परिवर्तन आएकाले यस क्षेत्रमा केही नयाँ समस्याहरु समेत सृजना भएका छन् । त्यही शिलशिलामा केही दिन अगाडि अनलाईन टिभी संचारकर्मीहरुले बाल गृह संचालिका पुष्पा अधिकारीसँग गरेको व्यवहारलाई लिएर सर्वत्र चासो व्यक्त भइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।सञ्चारको नयाँ साधनका रुपमा उदाएका युट्युबलगायतका अनलाईन टिभी प्रसारणका माध्यमहरु मार्फत् सम्प्रेषण भइरहेका सामग्रीहरुप्रति लामो समयदेखि टिकाटिप्पणी भइरहेकै थिए ।

एकातिर विद्धमान सञ्चार कानुनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कोतर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशिल साथीहरुलाई सिक्ने÷सिकाउने र संगठित हुने वातावरण पनि बनिनसकेकाले अन्यौलता रहदै आएको थियो । यही परिपे्रक्षमा गत बर्ष २०७६ माघ २४ गते नेपालमा पहिलो पटक अनलाईन टिभी सञ्चालकहरुको पहिलो राष्ट्रिय भेला भएको थियो । भेलाले वर्तमान पत्रकार आचारसंहितालाई पूर्णतः पालना गर्ने र नयाँ सञ्चार माध्यमलाई समेत समेट्नेगरी आफै नयाँ आचारसंहिता बनाउने निर्णय गरेको थियो । सोही भेलाबाट गठन भइ दर्ता समेत भइसकेको यस अनलाईन टिभी पत्रकार संघले आफ्नै नयाँ आचारसंहितालाई अन्तिम रुप दिएर केहीदिनमा जारी गर्न लागेको छ भने अहिलेलाई पत्रकार आचारसंहिता २०७३ नै अक्षरशः पालना गर्न आह्वान गर्दछ ।

साथै पत्रकारिता क्षेत्रमा नवआगन्तुक साथीहरुबाट धेरै कमजोरी भएकै छन् । तर पुराना सवै ठिक छन्, नयाँ सवै बेठिक छन् भन्नेगरी भइरहेको प्रचारप्रति हाम्रो आपत्ति छ । कमजोरी सुधार्न साथीहरु तत्पर नै भएको देखिन्छ । उहाँहरुलाई दर्शक तथा सुवेच्छुकहरुबाट प्राप्त सुझाव तथा सल्लाह स्वागतयोग्य नै हुन्छ । नयाँ सञ्चारकर्मी साथीहरुले पनि सामाजिक दायित्व नभुलेर आफुलाई सुधार्दै लैजान आग्रह गर्दछौँ । साथीहरुलाई कुनै सहयोग, सुझाव चाहिएमा यस संघको सम्पर्कमा आउनुहुन अनुरोध छ । अनलाईन टिभी क्षेत्रको सुद्धिकरण र सुदृढीकरणका लागि सवै अनलाईन टिभी पत्रकारहरुलाई संघ मार्फत् एकताबद्ध हुन पनि आह्वान गर्दछौँ । धन्यवाद । राजु सुवेदी, महासचिव,
२०७७ साउन २३ गते शुक्रबार