चाडपर्व मनाउँदा पाहुना नबोलाउन सरकारको अपील

प्रकाशित मिति:

काठमाडौं, साउन २३ । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै चाडपर्व, जात्रा तथा उत्सव मनाउन नागरिकहरूलाई निर्देशन दिएको छ। कोरोना संक्रमणको दर बढ्दै गएकाले आवश्यक सजगतासहित पर्व मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकहरुलाई भनेको हो। मन्त्रालयले चाडपर्वमा आफ्ना घरभित्र बसोबास गर्ने व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने मापदण्ड बनाएको छ।

संक्रमणको जोखिम कम गर्न सुरक्षित रुपमा पर्व मनाउन मापदण्ड तयार गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।ुअहिले संक्रमणको जोखिम निकै बढेको अवस्थामा कम भेटघाट गर्नु नै जायज हुन्छ। पाहुनालाई निषेध नै गर्नु भनेका होइनौँ सकभर पाहुना कम गर्नुस् भन्ने हाम्रो आग्रह हो, उनले भने।

सरकारले जारी गरेको मापदण्डमा सम्भव भएसम्म एकै घरका परिवारका सदस्यमात्रै बसेर चाडवाड तथा पर्व मनाउन भनिएको छ। चाडपर्वको समयमा सकेसम्म घर बाहिर भेटघाटमा नजान र चाडपर्व, जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न नागरिकलाई आग्रह गरेको छ। त्यसैगरी, धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जनामात्रै भेला हुनुपर्ने मापदण्डमा भनिएको छ। कुनै पनि धार्मिक कार्यक्रम तथा भेला गर्दा भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकको व्यवस्था गर्नुका साथै त्यस क्षेत्रलाई दुई पटक निसंक्रमण गर्नुपर्ने मापदण्ड सरकारले बनाएको छ।