‘जोखिमपूर्ण शिद्वबाबा सडकखण्ड र स्थायी समाधान विषयक अन्तर सम्बाद’ कार्यक्रम

प्रकाशित मिति:

बुटवल, २३ साउन । प्रदेश ५ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले सिद्र्धाथ राजमार्ग अन्तरगत सिद्वबाबा सडकखण्डको पहिरोको जोखिमको बिकल्प १ वर्षभित्र तयार पार्ने दावी गरेका छन् । मन्त्री चौधरीले संघिय सरकारले सिद्वबाबामा सुरुङ्ग बनाए÷नबनाएपनि प्रदेश सरकारले सिद्वबाबाको बिकल्पमा २ वटा बाटोहरु १ वर्षभित्र सम्पूर्ण तयार पार्ने बताएका हुन् ।
दैनिक पत्र, रेडियो जागरण र समृद्वि सरोकार केन्द्र बुटवलले शुक्रवार बुटवलमा आयोजना गरेको ‘जोखिमपूर्ण सिद्धबाबा सडकखण्ड र स्थायी समाधान विषयक अन्तर सम्वाद’ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिएकै दिनदेखी नै सिद्धबाबा क्षेत्रको बारेमा अध्ययन शुरु गरेको बताउँदै उनले यो क्षेत्रको पहिरोको समस्या समाधानका लागि प्रदेश सरकारले गम्भिरतापूर्वक ध्यान दिएको बताए ।प्रदेश सरकारले सिद्धबाबा माथिको पहाडलाई काटेर सुन्दर बस्ती बसाउने गरी तयार गरिरहँदा केन्द्रीय सरकारले सुरुङ्ग मार्ग बनाउने कामको डिपिआर नै तयार गरेकोले आफुहरु त्यो कामबाट पछाडि हटेपनि सिद्धबाबा सडकखण्डको बिकल्पमा २ वटा बाटो तयार पार्ने काममा लागेको उनको भनाई थियो ।

उनले भने –‘सिद्वबाबाको माथिल्लो भेग काट्दा निस्कने निर्माण सामग्रीबाट राज्यले आम्दानी गर्न सक्छ र त्यहाँ टाउन प्लानीङ्ग(अतिरिक्त सुविधा सहितको बस्ती निर्माण) गरेर बस्ती बसाउन सकिन्छ भन्ने सोचेका थियौँ । ’–उनले भने –‘ संघ सरकारले सुरुङ्ग बनाउने योजना अगाडी सारेपछि हामी टाउन प्लानीङ्गको योजनालाई परिमार्जन गर्ने सोंच बनाएका छौं तर योजना छाडेका छैनौँ । ’झुम्सा–चरङ्गे सडक र बेलबास–नुवाकोट–दोभान सडक खण्ड निर्माणको अन्तिम चरणमा रहेको र कोरोना हटेमा यी २ सडक १ वर्षभित्र तयार भईसक्ने उनको दावी थियो । उनले भने –‘संघ सरकारले सुरुङ्ग बनाएपनि सडकको बिकल्प चाहिन्छ त्यही अनुरुप यात्रु मार्गको रुपमा बेलबास–नुवाकोट–दोभानलाई प्रयोग गरिने छ भने मालबाहक सामग्री ढुवानीको लागि झुम्सा चरङ्गे सडक प्रयोग गरिने छ । ’लामो समय देखि सिद्वबाबा क्षेत्रमा पहिरो जाँदा धेरैको ज्यान गएपनि अर्को वर्षदेखि कोही मर्नु नपर्ने उनको भनाई थियो ।

कार्यक्रममा संविधान सभा सदस्य नेत्र प्रसाद पन्थीले यस क्षेत्रमा जोखिम कम हुने गरी काम अगाडि बढाउन सबैको सहयोग हुनुपर्ने तर्क गरे । ज्यान नै लिने सडकको विकल्प दीर्घकालीन बनाउन उनले प्रदेश सरकारलाई सहयोग गर्न सबैलाई आग्रह गरे । संविधान सभा सदस्य विनोद पहाडीले यो क्षेत्रमा ज्यान गुमाएकालाई सम्झदै अब कसैको ज्यान नजाओस भन्नको लागि तयार हुँदै तय गरेका विकल्पको प्रयोग सबैले गर्नुपर्ने बताए । उनले यसले विकाससंगै सबै सुरक्षित रुपमा यात्रा गर्न सकिने बताए । कार्यक्रममा बोल्दै दैनिक पत्र राष्ट्रिय दैनिक,जनसंघर्ष र स्वाधीनका कार्यकारी प्रमुख एवं प्रधान सम्पादक अधिवक्ता बालकृष्ण चापागाईंले कार्यक्रमबारे जानकारी गराउँदै वर्षाको बेला पत्रिकाको प्रथम पृष्ठमा शिद्वबाबा पहिरोमा परी मानिसको ज्यान गएको समाचार राख्नु पर्ने बाध्यता रहेको बताए । उनले सञ्चार जगतबाट सरकारका काममा सहजता रहँदै आएको र आगामी दिनमा पनि हुने तर्क गरे ।

कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालय बुटवलका निमित्त निर्देशक भिमार्जुन पाण्डेले करिब ५० वर्ष अगाडि बनेका सडकहरु बनेका सडकले अहिलेको परिस्थिति अनुसार भार थाम्न नसकेकोले दिन–प्रतिदिन जोखिम बढिरहेको बताए ।सडक पनि निश्चित अवधिसम्म सुरक्षित हुने मानव जीवन जस्तै रहेको उल्लेख गर्दै उनले पुरानो हुँदै जाँदा कमजोर हुने बताए । उनले सडकको ग्रेड मिलाउन आवश्यक रहेको बताउँदै घर–घर जोड्ने सडकले दुर्घटना बढाईरहेको तर्क गरे । सिद्धबाबा क्षेत्रको भौगोलिक अवस्थामा बलौटे र माटे ढुंगा मिलेर बनेका पहाड रहेको र मौसममा आएको परिवर्तनले यसलाई अझै कमजोर बनाईरहेको बताए । उनले भने –‘यो क्षेत्र कमजोर क्षेत्र हो । अझै ढुंगाका आकार सडक क्षेत्रतिर पर्दा झन दुर्घटनाको जोखिम बढ्छ । ’उनले यो क्षेत्रको सडक चौडा गर्दै पहाडको माथिल्लो भागको भार कम गर्नु एकमात्रै दुर्घटना न्युनिकरणको बिकल्प रहेको बताए मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले वर्षेनी ज्यान लिने यस सडक खण्डको विकल्प आवश्यक रहेको र यसमा प्रदेश सरकारको भूमिका अझै महत्वपूर्ण हुने तर्क गरे । उनले कसैले ज्यान गुमाउन नपरोस भन्ने तवरबाट सरकारले ध्यान दिन आग्रह गरे । नुवाकोट विकास समितिका अध्यक्ष एवं पर्यटन व्यवसायी माधव नेपालले ‘बेलबास–नुवाकोट–दोभान’ सडकखण्ड ४–५ किलोमिटर मात्रै लामो भएपनि यस सडकको प्रयोगले सुरक्षा बढ्ने बताए । उनले सुरुङ्गमार्ग पर्यटन संग जोडिएपनि त्यो निर्माण सम्पन्न हुँदा सम्म यो सडक उत्कृष्ट विकल्प हुने बताए । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी संघका पूर्व उपाध्यक्ष पर्शुराम ढकालले सिद्धबाबा क्षेत्रमा हुने विभिन्न दुर्घटनाले आफ्नो प्रा.लि.का गाडीहरु पनि दुर्घटनामा परेको बताउँदै यसको विकल्प तत्काल आवश्यक भएको बताए । कार्यक्रम दैनिक पत्रका कार्यकारी प्रमुख एवं प्रधान सम्पादक बालकृष्ण चापागाईंको अध्यक्षता, समृद्धि सरोकार केन्द्रका अध्यक्ष गणेश घिमिरेको स्वागत तथा प्रबन्ध सम्पादक ऋषि आजादको सञ्चालनमा भएको थियो ।