रोनाल्डोले बनाए कीर्तिमान

प्रकाशित मिति:

काठमाडौं, साउन २४ । इटालियन लिग सिरी एु बिजेता युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ। गएराति घरेलु मैदानमा फ्रेन्च क्लब लियोनमाथि २–१ को जित निकाले पनि युभेन्टस अवे गोलमा पछि पर्दै अन्तिम १६ बाटै बाहिरिएको हो। समग्रमा खेल २–२ को बराबरीमा सकिएको थियो। तर, अवे गोलमा लियोन अगाडि रह्यो। कोरोना भाइरसको महामारीका कारण फुटबल गतिविधि रोकिनु ठीक अगाडि भएको पहिलो लेगमा युभेन्टस १–० ले पराजित भएको थियो। युभेन्टसको जितमा दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे। यो दुई गोलसँगै रोनाल्डोले ८६ वर्ष पुरानो रेकर्ड तोडे।

यो सिजन ३७ गोल गर्दै रोनाल्डोले सन् १९३३-३४ मा फेलिस प्लासिडो बोरेलले ३६ गोल गर्दै बनाएको युभेन्टसका लागि एकै सिजन सर्वाधिक गोल गर्ने कीर्तिमान तोडे। यो सिजन रोनाल्डोले सिरी एमा ३१ गोल गरेका थिए।मेम्फिस डिपेको पेनाल्टी गोलमा लियोनले १२औं मिनेटमा अग्रता लिएको थियो। ४३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा युभेन्टसका लागि बराबरी गोल फर्काए। ६० औं मिनेटमा रोनाल्डोले पुनः गोल गरेपछि युभेन्टसले २–१ को अग्रता लियो। तर, त्यसपछि गोल गर्न नसक्दा अवे गोलमा पछि पर्दै युभेन्टस अन्तिम १६ मै रोकियो।