वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर मार्केटप्रति आकर्षित बन्दै

प्रकाशित मिति:

वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ । खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् रु ५० हजारदेखि रु पाँच लाखसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन् । शेयर बजार अनलाइन प्रणालीमा गएपछि बुटवलका लगानीकर्ता खुशी देखिएका छन् । उनीहरुले अनलाइन प्रणालीमा गएपछि बजार बढ्ने विश्वास व्यक्त गर्दै प्रविधिलाई सहज र सरल बनाउन जोड दिएका छन् । एशियन सेक्युरिटिज प्रालि (२६) नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजार अनलाइन प्रणालीमा गए पनि मङ्गलबार कारोवार गर्न सहज नभएको उल्लेख गर्दै तयारी पूरा गरेर मात्रै अनलाइन प्रणालीमा जाँदा लगानीकर्तालाई झण्झट हुने थिएन भन्नुभयो । उहाँले अनलाइनका विषयमा धेरै लगानीकर्ताको फोन आएको जानकारी दिँदै अब शेयर बजारका लागि यो सुखद् र उत्साहित विषय भएको बताउनुभयो ।