बुटवलमा नेकपाका दुई सय बढी कार्यकर्ता कांग्रेस प्रवेश

२८ श्रावण २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


२८ साउन,बुटवल । नेपाल कम्युनिष्ट पार्टी बुटवल नगर कमिटीका सचिवालय सदस्य जीतबहादुर मल्ल सहित २ सय बढी नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । तत्कालिन नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष समेत रहेका मल्ल सहित बुटवल उपमहानगरपालिका वडा नं. ११ का नेकपाका १२२ जना संगठित सदस्य र ९६ जना साधारण सदस्य गरि २१८ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई बुधबार बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले पार्टी प्रवेश गराए । मल्लले बुधबार नै एक प्रेस बिज्ञप्ती जारी गरि आफू सहित २१८ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

उनले जारी गरेको बिज्ञप्तीमा स्थानीय तह, प्रदेश र केन्द्रमा अत्यधिक बहुमतको सरकार हुँदा पनि कम्युनिष्ट पार्टीको नीति अनुसार काम गर्न नसकेको तथा पार्टीको सिद्धान्त र मर्मलाई आत्मसात गर्न नसकेको हुँदा कम्युनिष्ट हुँ भनेर यो पार्टीमा रहनुको औचित्य समाप्त भएको उल्लेख गरिएको छ । उनीहरुलाई पार्टी प्रवेश गराउंदै नेपाली काँग्रेस रुपन्देहीका सभापति रज्जाक,सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले ७० हजार जनसंख्या रहेको बुटवलको वडा नंं. ११ को जनमतले बुटवलको मात्र नभई संसदीय निर्वाचनलाई समेत प्रभाव पार्ने भएकाले मल्ल सहितको समूहको प्रवेशले कांग्रेसलाई उत्साहित बनाएको बताए । उनीहरुले पार्टीमा पुराना कार्यकर्ता र नवप्रवेशीलाई समान व्यबहार गरिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया