कोरोना महामारी नियन्त्रणका लागि सबै एकजुट होऔंः मन्त्री बराल

प्रकाशित मिति:

बुटवल २८ साउन । मानव जीवनका लागि चुनौतीको रुपमा आएको कोरोना महामारीको न्यूनिकरण र निराकरणका लागि मानिसले विश्वमा नै चुनौतीको सामना गर्न बाध्य भएको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । नेपालमा कोरोना महामारीको प्रकोप बढ्नुमा खुला सीमा र अनियन्त्रित आवत–जावत मुख्य समस्याको रुपमा रहेको उनीहरुले बताएका छन् । मानवअधिकार तथा शान्ति समाज,कोभिड–१९ नागरिक सरोकार अभियान र दैनिक पत्र राष्ट्रिय दैनिकले बुटवलमा बुधबार आयोजना गरेको ‘कोरोना महामारी र जीवनरक्षाको प्रश्न’ विषयक अन्तर –संवाद कार्यक्रममा उनीहरुले उक्त विचार व्यक्त गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्वास्थ्यकर्मी,सञ्चार क्षेत्र, मानवअधिकारकर्मी,नागरिक समाज र प्रदेश सरकारको समन्वय र सहकार्यमा कोरोना नियन्त्रणमा बल पुग्ने चर्चा गर्दै सबैले हातेमालो गरेर अगाडि बढेमा जुनसुकै प्रकारका चुनौतीको पनि सामना गर्न सकिने बताए । उनले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले यथासम्भव कोशिस गरिरहेको बताउँदै प्रदेश नं. ५ मा कोरोना महामारी नियन्त्रणको दायरा भित्र रहेको बताए । उनले जनताका समस्याको पहिचान गरी समाधान गर्नमा प्रयत्नशील रहनु प्रदेश सरकारको दायित्व भएकाले यस कार्यमा आफु इमान्दारीपूर्वक क्रियाशील रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष,वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईंले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै जन अपेक्षा पनि बढेको हुँदा संघ,प्रदेश र स्थानीय सरकारले त्यसलाई सम्बोधन गर्न सक्नु पर्ने बताए । उनले कोरोना महामारी नियन्त्रणका लागि समाजका सबै अंगलाई साथमा लिएर प्रदेश सरकार अगाडि बढेमा सकारात्मक परिणाम आउने बताए ।

संविधान सभा सदस्य तथा अधिकारकर्मी विनोद पहाडीले कोरोना महामारीबाट जनताको जीवनरक्षाका लागि सरकारले प्रभावकारी योजना र आवश्यक परे कठोर लकडाउन र कर्फ्यू लगाएर भएपनि जनताको मनोबल उठाउन आग्रह गरे । उनले कोरोनाका कारण लकडाउन हुँदा नागरिकले अत्यन्तै कठिन परिस्थितिको सामना गर्नु परेको चर्चा गर्दै यसमा सरकारको ध्यान समयमै पुग्नु पर्ने बताए ।  मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले समाजमा शान्ति स्थापनाका लागि गास,बास,कपास,शिक्षा,स्वास्थ्य र सुरक्षा महत्वपूर्ण भएको बताउँदै पछिल्लो समयमा मानव जीवन र स्वास्थ्यसँग जोडिएको कोरोना महामारीको प्रकोपले विश्व नै भयभीत भएको हुँदा यसको चाँडो भन्दा चाँडो नियन्त्रण र निराकरण अत्यावश्यक भएकोे बताए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डेण्ट डा.राजेन्द्र खनालले कोरोना विरामीको उपचारमा डाक्टरभन्दा नर्सहरु फ्रन्टलाईनमा रहेर सेवा दिइरहेकोमा उच्च प्रशंसा व्यक्त गरे । उनले कतिपय व्यक्तिहरु जिम्मेवारीबाट टाढा–टाढा भागेजस्तो गर्ने, आफु मात्रै बाच्न पाए हुने र अरुलाई जेसुकै होस् भन्ने खालको प्रवृत्ति देखाएको बताए । उनले हरेक मानिसको जीवन महत्वपूर्ण भएकोले जीवनरक्षा र मानवअधिकार जोगाउन सबै जिम्मेवार बन्नु पर्ने बताए ।

आम्दा अस्पताल बुटवलका प्रमुख डा. राजेन्द्र बस्यालले कोरोना जित्नका लागि सबै सचेत, सजग र अनुशासित हुनु पर्ने बताए । निजी अस्पताल संघ प्रदेश ५ का सचिव मुक्ति पौडेलले स्वास्थ्य क्षेत्रमा आइपर्ने कुनैपनि समस्या समाधानमा सरकारसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।
मानव अधिकारकर्मी तथा अधिवक्ता पदम कार्कीले नागरिकका समस्याप्रति सरकारको समयमैे ध्यान पुगी समाधान खोज्नु पर्ने बताए । उच्च अदालत बार एशोसियसन बुटवलका अध्यक्ष अधिवक्ता जोग बहादुर खत्रीले मानिसका लागि पछिल्लो समयमा स्वास्थ्य अधिकार अत्यन्तै महत्वपूर्ण बन्दै गएको चर्चा गर्दै प्रदेश सरकारले यसमा विशेष ध्यान दिनुपर्ने बताए । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति समाज रुपन्देहीका सभापति डीपी खनालको धन्यवाद मन्तव्य एवं कार्यक्रमको सञ्चालन बुद्ध सामुदायिक टेलिभिजनका कार्यकारी निर्देशक विक्रम खड्काले गरेका थिए ।