विद्यार्थी नेतालाई रिहा गर्न नेविसंघको माग

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयबाट पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष राजीव ढुंगानाले शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरी साउन २७ गते विश्वविद्यालय परिसरबाट पक्राउ गरेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् । प्रहरीले साउन २७ गते विश्वविद्यालयमा तोडफोड गरेको आरोप लगाउँदै विद्यार्थी नेताहरु सम्झना खत्री, श्यामराज ओझा, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कुँवरलगायत आठ जनालाई पक्राउ गरेको थियो ।

उपकुलपतिको निर्देशनमा सुनियोजित ढंगबाट विश्वविदालयमा तोडफोड गरेर नेविसंघ नेताहरुलाई षडयन्त्रपूर्वक पक्राउ गरिएको नेविसंघले दाबी गर्दै आएको छ । यस्तै अध्यक्ष ढुंगानाले वीरगन्जका स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्य सेवा प्रदानको माग राख्दै शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा गिरफ्तारीमा परेका विद्यार्थी नेताहरुलाई पनि रिहा गर्न माग गरेका छन् । वीरगन्जमा साउन २६ गते भएको प्रदर्शनमा गिरफ्तार गरिएका विद्यार्थीहरुलाई सोही राति रिहा गरेर प्रहरीले साउन २८ गते पुनः पक्राउ गरेको छ । उनीहरुमाथि प्रहरीले झुटो मुद्दा लगाएर फसाउन खोजेको भन्दै नेविसंघले आपत्ति जनाएको छ । दुवै स्थलबाट पक्राउ परेका विद्यार्थी नेताहरुलाई तुरुन्त रिहा गर्न सरकारसँग जोडदार माग गर्दछु । विद्यार्थीको र आम जनसमुदायका जायज मुद्दा उठाउँदा प्रहरी दमन र झुटा मुद्दाको सहाराले फसाउन खोज्‍ने निरंकुश चरित्र प्रदर्शन नगर्न ओली सरकारलाई चेतावनी दिन चाहन्छु अध्यक्ष ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैबीच नेविसंघका महामन्त्री दीपक भट्टराईले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि झुटा मुद्दा लगाउने विश्वविद्यालयका उपकुलपतिलाई नछाड्ने चेतावनी दिएका छन् । शान्तिपूर्ण प्रदर्शन गरिरहेका साथीहरुलाई गिरफ्तार गरी झुटा मुद्दा लगाउने उपकुलपतिलाई हामी छोड्नेवाला छैनौं । यसको परिणाम उपकुलपतिले व्यहोर्छन्  उनले भने, सँगै केही प्रहरी अधिकारीहरुले नियतवश विद्यार्थीहरुलाई दुःख दिने काम गरिरहेका छन् । यसको हिसाब नेविसंघले राखेको छ