प्रादेशिक अस्पतालमा भर्ना भएका दुईजनामा कोरोना पुष्टि, रुपन्देहीमा पाँच संक्रमित थपिए

प्रकाशित मिति:

२९ साउन, बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएर उपचार गराइरहेका दुईजना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरुमध्ये एकजना कपिलवस्तु र एकजना प्युठानका हुन् । दुवैजना पुरुष हुन् । बुधबार कपिलवस्तु र प्युठानबाट उपचारका लागि आएका उनीहरु आकस्मिक कक्षमा भर्ना भएर उपचार गराइरहेका थिए । दुवैजनामा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या रहेको र कपिलवस्तुका बिरामीलाई जिल्ला अस्पतालले रेफर गरेको अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए ।

उनीहरुमा देखिएको लक्षणका आधारमा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता गौतमले बताए । उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि बिहीबार दिउँसो केहीबेर सेवा स्थगित गरेर अस्पताललाई सेनिटाइज गरेर उपचार सेवा सुरु गरिएको गौतमले बताए । कोरोना संक्रमित दुवै बिरामीलाई धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखेर उपचार थालिएको छ ।

रुपन्देहीमा पाँच संक्रमित थपिए- यसैबीच बिहीबार रुपन्देहीमा थप पाँच जनामा कोभिड १९ पाजेटिभ पुष्टि भएको छ । । बुटवलमा समुदायस्तरबाट संकलन गरिएको स्वाब परीक्षणमा एक महिला सहित ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । नेशनल प्याथ ल्याबमा भएको परीक्षणमा एकजना र प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चारजनामा संक्रमण देखिएको हो । यससँगै रुपन्देहीमा कारोना संक्रमितको संख्या ४०६ पुगेको छ ।@onlinekhabar