चौधरी फाउण्डेशनद्दारा भेण्टिलेटर हस्तान्तरण

प्रकाशित मिति:

नारायण शर्मा

वीरगञ्ज, भदौं १–

चौधरी ग्रुपअन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले वीरगंजस्थित नारायणी अस्पताललाई गम्भीर बिरामीको उपचारमा आवश्यक पर्ने भेन्टिलेटर हस्तान्तरण गरेको छ । आइतबार वीरगंजस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आयोजित एक कार्यक्रममा चौधरी फाउण्डेशनका प्रतिनिधिले भेण्टिलेटर हस्तान्तरण गरेका हुन् । पर्साका प्रमुख जिल्ला अधिकारी असमान तामांगले कोभिडको महामारीको समयमा यहाँको अस्पताललाई भेन्टिलेटर सहयोग गरेर चौधरी फाउण्डेशनले ठूलो गुन लगाएको भन्दै खुशी ब्यक्त गरे ।

उक्त अबसरमा अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र लाभको उपस्थिती रहेको थियो । भेन्टिलेटर प्राप्त गरेपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा वीरेन्द्र कुमार प्रधानले भेन्टिलेटरको अभावले उपचार सेवा प्रभावकारी हुन नसकेको समयमा चौधरी फाउण्डेशनले भेन्टिलेटर सहयोग गरेर सामाजिक उत्तरदायित्व र कर्पोरेट भूमिका निर्वाह गरेको भन्दै फाउण्डेशनको प्रशंसा गरे । उनले भने–‘कोभिड महामारीको समयमा पुर्‍याएको यो सहयोग अतुलनीय छ ।’

फाउण्डेसनका प्रतिनिधि राजचन्द्र धितालले ७ वटै प्रदेशमा कोभिडको उच्च जोखिममा उपचार गर्दै आएका सरकारी अस्पताललाई क्रिटीकल विरामीहरुलाई उपचारका लागि सहयोग गर्न फाउण्डेसनले भेण्टिलेटर हस्तान्तरण गरेको बताए । हस्तान्तरण कार्यक्रममा चौधरी फाउण्डेशनका महाप्रबन्धक दामोदर भण्डारी, फाउण्डेशनका प्रतिनिधि रामचन्द्र धिताल र आषिश बराललगायतको उपस्थिती रहेको थियो ।

चौधरी फाउण्डेशनले ७ वटै प्रदेशका कोभिड उपचार हुने सरकारी अस्पतालाई भदौ पहिलो साताभित्र भेन्टिलेटर हस्तान्तरण गर्ने जनाएको छ । फाउण्डेशनले यसअघि सात वटै प्रदेशमा कोरोना उपचारमा संलग्न चिकित्सकको जिवन रक्षाका लागि अत्यावस्यक पर्ने पीपीई, मास्क, सेनीटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरीसकेको छ ।