देवदहको बिकास बजेट आईसुलेशन र भेन्टिलेटरमा लगाउ : सिभिल सोसाईटी

प्रकाशित मिति:

बुटवल, १ भदौ । रुपन्देहीको देवदह नगरपालिकाले कोरोना संक्रमण भएका र यसको जोखिममा परेकाहरुको उपचारका लागि नगरभित्रै आईसुलेशन र भेन्टिलेटर निर्माणको योजनालाई अगाडि सारेको जनाएको छ । कोरोना संक्रमण र यसले समुदायमा पार्न थालेको प्रभावको शुरुमै देवदहका विभिन्न स्थानमा क्वारेन्टीन स्थापना गरेको नगरपालिकाले अव क्वारेन्टीनसँगै संक्रमणको शिकारभएकाहरुलाई उपचार गर्न आईसुलेशन र भेन्टिलेटर निर्माणको योजनालाई अगाडि सारेको बताएको हो ।

सिभिल सोसाईटी अफ देवदहले कोरोनाको महामारी र यसको संक्रमणबाट नागरिकलाई जोगाउन नगरपालिकाले खेल्ने भुमिकाका बारेमा चलाएको भर्चुअल छलफल कार्यक्रममा सहभागि हुनु भएका नगरप्रमुख हिराबहादुर खत्रीले देवदहलाई कोरोनाको संक्रमणबाट नगरबासिलाई जोगाउन र संक्रमणमा परेकाहरुको उपचारमा नगरपालिकाले क्षमताभएअनुसारको प्रयास गर्ने बताउनुभयो । उहाँले देवदह क्षेत्रमा अहिलेसम्म २१ जना संक्रमित देखिएको र त्यसमध्ये ११ जना निको भर घर गएको तथा अहिले ९ जना उपचारत रहेको उल्लेख गर्दै एक जनाको मृत्यू भएको जानकारी दिनुभयो । त्यसअघि देवदह लगायत विभिन्न जिल्लाका ९८२ जनालाई क्वारेन्टिन गरिएको समेत सो अवसरमा जानकारी दिदै भारतीय श्रमिकका कारण संक्रमणको जोखिम बढेकाले त्यसतर्फ सबै सचेत रहनु पर्ने सुझाव समेत दिनुभयो ।

अहिले समुदायमा कोरोना संक्रमणको दर बढ्दै गएकाले यसबाट नगरबासीलाई जोगाउन लकडाउन गरिएको र आगामि दिनमा छुट्टै योजना सहितको कार्यक्रम ल्याउने तयारी समेत नगरपालिकाले गरेको खत्रीले स्पष्ट पार्नुभयो । सिभिल सोसाईटी अफ देवदहका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका निमित्त प्रशाकिय अधिकृत टिकाराम शर्मा, स्वास्थ्य शाखाका काशिनाथ बन्जाडे, नेकपाका देवदह अध्यक्ष प्रकाश अर्याल, देवदह आर्दश बहुमुखि क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, मदरटङ्गस एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङ्ग, पत्रकार सिद्धिचरण भट्टराई, प्रदिप अधिकारी, जयकिशन अधिकारी लगायतले समुदायमा कोरोना संक्रमण बढ्न नदिनका लागि नगरपालिकाले विकास बजेटलाई स्वास्थ्य क्षेत्रमा लगानी गरेर संक्रमणका बेला आवश्यक पर्ने आईसुलेशन र भेन्टिलेटर निर्माणमा लगाउनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा देवदह क्षेत्रका राजनीतिक दलका प्रतिनिधी, शिक्षाप्रेमी, स्वास्थ्य कर्मी लगायतको उपस्थिती रहेको थियो ।