तिलोत्तमामा भदौ १० गतेसम्म कडा लकडाउन

प्रकाशित मिति:

तिलोत्तमा, भदौ २ । समुदाय स्तरमा कोरोना संक्रमण बढ्दै गएपछि अन्ततः तिलोत्तमा नगरपालिकामा पनि एक हप्ता लकडाउन हुने भएको छ । राजनीतिक दल, सुरक्षा निकाय, तिलोत्तमा च्याम्बर अफ कमर्श, तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग–व्यापार संगठन समेतका प्रतिनिधिहरु सहभागी नगर स्तरीय संकट व्यवस्थापन केन्द्र ­(सि.सि.एम.सी.) को मंगलबार बसेको बैठकले भदौ ३ देखि भदौ १० गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो ।

यसअघि तिलोत्तमाले कोरोना महामारीको सन्दर्भमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णकार्यान्वयनमा कडाई गर्दै मास्क नलगाई घर बाहिर हिँड्नेलाई एक सय रुपैंयाँसम्म जरिवाना गर्ने निर्णय गरेको थियो । मंगलबार नैं बसेको नगर कार्यपालिकाको बैठकले कोरोना महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सम्बन्धमा हालसम्म गरिएका कार्यहरुको समीक्षा गर्दै एक हप्ता पूर्णलकडाउन गर्ने सि.सि.एम.सि. बैठकको निर्णय अनुमोदन गरेको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो ।

तिलोत्तममा भदौ ३ गते साँझ ७ ः०० बजे देखि भदौ १० गते साँझ ७ ः०० बजे सम्म पूर्ण लकडाउन हुनेछ भने नेपाल सरकारद्वारा जारी गरिएको जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा मापदण्ड पूर्ण कार्यान्वयन कडाइ गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्वास्थ्य सुरक्षा कायम गरी लकडाउनपूर्व नैं अत्यावश्यक सामग्रीको जोहो गर्न र सुरक्षित रहन नगरबासीलाई अनुरोध समेत गरेको छ । लकडाउनमा औषधि पसल बाहेक सबै प्रकारका पसल–व्यवसाय, उद्योगधन्दा, कलकारखाना, होटल तथा रेष्टुरेन्ट, निर्माण कार्य, बैंक–वित्तीय संस्था, सहकारी संस्थाका कार्यालय बन्द रहने छन् । तर, पशुपालक कृषकहरुबाट उत्पादित दुध तथा दुग्धजन्य पदार्थ सहकारी एवं संकलन केन्द्रहरुबाट बिहान ८ः०० बजे सम्म मात्र बिक्री वितरण गर्न दिइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

अत्यावश्यक सेवा सञ्चालनका लागि प्रयोग गरिने सवारीसाधन -एम्बुलेन्स, बारुणयन्त्र, शव बाहन, औषधी, एग्रोभेट, सञ्चार, पेट्रोलियम पदार्थ, खानेपानी, विद्युत, सरसफाई, दुधका ट्याङ्ककर, पशुपंक्षीको दानाका गाडी) बाहेकका अन्य कुनै पनि प्रकारका सवारी साधन (साइकल समेत) प्रयोग गर्न नपाइने निर्णय तिलोत्तमामा भएको छ । यस्तै सि.सि.एम.सी. बैठकले नगरपालिका तथा अन्तर्गतका कार्यालयबाट प्रवाह गरिने स्वास्थ्य लगायतका अत्यावश्यक सेवा बाहेकका अन्य सबै प्रकारका सेवाहरु पूर्ण रुपमा बन्द गर्ने, आइसोलेसन र क्वारेन्टाइनको क्षमता बिस्तारको क्रममा आवश्यक पर्ने भौतिक सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउन संभावित संघ–संस्थाहरुसँग समन्वय गर्ने निर्णय समेत गरेको छ । नगरपालिकाले नगर क्षेत्रभित्रका निर्माण व्यवसायी मातहत रही विभिन्न निर्माण कार्यमा संलग्न श्रमिकहरुको लगत सम्बन्धित निर्माण व्यवसायीहरुसँगबाट संकलन गरी अद्यावधिक गर्ने पनि जनाएको छ ।