दुधमा १५ रुपैयाँ अनुदानबाट गल्याङमा ४७ लाख किसानलाई वितरण

प्रकाशित मिति:

गल्याङ । स्याङजाको गल्याङ नगरपालिकाले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट किसानहरुका लागि ४७ लाख भन्दा बढि रकम वितरण गरेको छ ।  गएको आर्थिक वर्षमा गल्याङका किसानहरुले दुध विक्रीबाट ४७ लाख १२ हजार दुई सय ७७ रुपैयाँ अनुदान प्राप्त गरेका हुन् ।
नेपालमा संभवतः सबैभन्दा धेरै दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएको गल्याङ नगरपालिकाले विभिन्न १६ वटा दुध संकलन केन्द्र एवम् फर्म मार्फत किसानलाई यो रकम वितरण गरेको हो ।  गल्याङमा दुग्ध विकास संस्थानले तोकेको दर भाउमा किसानले विक्री गरेपछि त्यस बाहेकको १५ रुपैयाँ नगरपालिकाले अनुदान दिदै आएको छ ।

पहिलो किस्ता अन्तर्गत ९७ हजार दुई सय ७६ लिटर दुध संकलन गरेका किसानले गल्याङ नगरपालिकाबाट १४ लाख ५९ हजार एक सय ४० रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, दोश्रो किस्ता अन्तर्गत एक लाख ५२ हजार ५ दशमलब ६ लिटर दुध विक्रीबापत नगरपालिकाबाट किसानले २२ लाख ८७ हजार पाँच सय ८४ रुपैयाँ बुझेका छन् । कोरोना भाइरसको संक्रमणका कारण भएकाले लकडाउनका कारण तेस्रो किस्तामा दुध विक्री कम देखिएको छ । तेस्रो किस्ता अन्तर्गत चैत्र देखि असार सम्म ६४ हजार तीन सय ७० दशमलव २ लिटर दुध विक्री गरे वापत किसानले नौ लाख ६५ हजार पाँच सय ५३ रुपैयाँ किसानले नगरपालिकाबाट प्राप्त गरेका छन् ।

दुध संकलन केन्द्र, सहकारी तथा फर्मका गरी नगरपालिकाबाट जम्मा छ सय ७६ जना किसानले अनुदान रकम बुझेका छन् ।
गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले किसानलाई आत्मनिर्भर बनाउँदै व्यवसायिक बनाउनका लागि दिइएको अनुदान प्रभावकारी बनेको बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले किसान उत्साहित भएको पाएको छु । अझै उत्पादन बढ्ने क्रममा छ ।’कोरोना भाइरसको जोखिमका कारण लकडाउनले केही समस्या भएपनि अहिले किसान व्यवसायिक बन्ने बाटोमा अग्रसर रहेको उहाँको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले वास्तविक किसानहरुसामु अनुदान पुगेको बताउनुभयो ।

उहाँले उत्पादनका आधारमा किसानलाई अनुदान दिन सकिएमा मात्रै किसान व्यवसायिक बन्ने बताउनुभयो ।  गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशिल अर्यालले दुध उत्पादनमा किसानको रुची बढ्दै गएको पाइएको बताउनुभयो । उहाँले दुधमा उत्पादन बढाउनका लागि किसानको आवश्यकताका आधारमा थुनेलो नियन्त्रण सहितका उपायहरु अपनाइएको बताउँदै २४ सै घण्टा किसानको सम्पर्कमा रहने गरेको जानकारी दिनुभयो ।